काठमाडौँ – उपत्यकाका तीनै जिल्लाका जिल्ला संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले निषेधाज्ञा एक साता थप्न सिफारिस गर्ने निर्णय गरेको छ।
मंगलबार काठमाडौं जिल्ला प्रशासन कार्यालयमा बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरु सहितको बैठकले निषेधाज्ञा एक साता थप्न सिफारिस गर्ने निर्णय गरेको हो।
कोरोना भाइरस संक्रमण दर नियन्त्रणमा आइनसकेको भन्दै तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहले एक हप्ता सम्म निषेधाज्ञा लम्ब्याउने निर्णय अनुमोदन गरिसकेका छन् ।
जारी निषेधाज्ञा एक साता थप गरी भदौ १७ गते मध्यरातिसम्म लम्ब्याउने निर्णय डिसीसीएमसीबाट सिफारिस भइसकेको भएपनि गृह मन्त्रलाय र प्रधानमन्त्री कार्यालयबाट आवश्यक राय सुझाव लिने तयारी गरिएको छ।
काठमाडौँ महानगरपालिकामा १५ हजार, ललितपुर महानगरमा दुई हजार र बाँकी अन्य १६ वटा नगरपालिकामा कोरोना सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिको पीसीआर निषेधाज्ञाकै समयमा परीक्षण गरिँदै छ। त्यसको लागि अपुग हुने समय सम्मको लागि निषेधाज्ञा थप्न लागिएको हो। काठमाडौँ उपत्यकाका स्थानीय तहबाट दिइने अत्यावश्यकबाहेकका सेवा भदौ १५ गतेसम्मका लागि स्थगित भैसकेका छन्।
कोरोना भाइरस संक्रमण बढेपछि भदौ ३ गतेदेखि १० गते मध्यरातिसम्म तीन जिल्लामा निषेधाज्ञा जारी भएको थियो।