कोभिड-१९ को खोप २०२१ को शुरुसम्ममा बन्ने!

विश्व स्वास्थ्य सङ्गठनको नेपालस्थित कार्यालयका प्रतिनिधि जोस भ्यानडिलिएरले विश्वमा कोभिड–१९ को खोप आगामी वर्ष (सन् २०२१) को शुरुसम्ममा बन्ने विश्वास व्यक्त गर्नुभएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमसँग कोभिड–१९ को अवस्था र बच्ने उपायका बारेमा कुराकानी गर्दै उहाँले धेरै देशले खोपको अध्ययनमा लागेकाले त्यो सफल हुने धारणा राख्नुभएको छ । रसिया, चीनलगायत देशमा खोपको परीक्षण अन्तिम चरणमा रहेको उहाँको भनाइ छ । खोप आइसकेपछि त्यसले कति समयमा र कसरी काम गर्छ भनी यकीन हुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “खोपको डोज कति चाहिन्छ, पर्याप्त संरक्षण गर्छ गर्दैन, त्यसले कति समयसम्म काम गर्छ भन्ने हेर्नुपर्छ ।”

खोप तयार हुँदा दुई ठूलो परिमाणमा तयार हुने र पहिलो चरणमा जोखिममा रहेका समुदायले पाउने उहाँको भनाइ छ । पहिलो चरणमा स्वास्थ्यकर्मी, अरु रोग भएका व्यक्ति पछि मात्रै सर्वसाधरणसम्म त्यो खोप पुग्नेछ । खोप सबै देशले पाउने उहाँले विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “विकास भएको खोप गरिब देशले पनि सहुलियतमा वा निःशुल्क पाउने प्रणाली रहेको छ ।” भाइरस थुकलगायत छिटाबाट सर्ने हुँदा त्यसबाट जोगिएर रोगबाट बच्न सकिने उहाँको धारणा छ । माक्सको प्रयोग गरेर र अरु व्यक्तिसँग दूरी कायम गर्नुपर्ने उहाँको सुझाव छ ।

नेपालमा स्वास्थ्यकर्मीलाई भइरहेको नराम्रो ब्यबहारका कारण कुनै दिन अस्पतालमा डाक्टर र नर्स नहुन सक्नेतर्फ उहाँले सबैलाई सजग गराउनुभएको छ । कसैले पनि आफूलाई सङ्क्रमण नहोस् भन्ने चाहेको भन्दै उहाँले स्वास्थ्यकर्मलाई दोष लगाउन नहुने बताउनुभयो । उहाँका अनुसार आफू जोखिममा रहेर पनि नियमित रुपमा उपचारमा संलग्न हुने स्वास्थ्यकर्मीलाई सबैले सम्मान गर्न खाँचो छ । विश्वका सबै देशमा सङ्क्रमितको उपचारमा अग्रपङ्तिमा रहेर उपचारमा संलग्न हुने भएकाले स्वास्थ्यकर्मी बढी जोखिममा रहने उहाँको भनाइ छ । सबै व्यक्तिको कल्याण स्वास्थ्कर्मीमा निर्भर रहने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “कोभिड र त्यसबाहेकका अरु रोगको उपचारका लागि स्वास्थ्कर्मी नै चाहिन्छ ।”

प्रकाशित : बुधबार, भदौ १०, २०७७१४:३७

सरकारले भन्यो – ‘लक्षण नभएका र सामान्य अवस्थाका बिरामीलाई अस्पतालमा नराख्नु’