सरकारका प्रवक्ताले भने – ‘कुलमानलाई नियुक्ति दिने कुरा भएको छैन’

काठमाडौँ – सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिबारे कुनै पनि प्रक्रिया अगाडी नबढेको स्पष्ट पारेका छन्।

बिहिबार मन्त्रिपरिषद्‍का निर्णय सार्वजनिक गर्न सञ्‍चार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्ने क्रममा खतिवडाले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिबारे कुनै पनि प्रक्रिया अगाडी नबढेको स्पष्ट पारेका हुन्। कुलमान घिसिङलाई अर्को कार्यकाल पनि कार्यकारी निर्देशकमा नियुक्त गर्ने बारे औपचारिक प्रस्ताव आइनसकेको उनले स्पष्ट पारे।

“प्राधिकरणको कार्यकारी निर्देशकबारे कुनै निर्णय भएको छैन। कुलमानलाई सामाजिक सञ्‍जालले नियुक्ति दिएको होला तर सरकारले कुनै निर्णय गरेको छैन। अझैसम्म औपचारिक प्रस्ताव आइसकेको छैन।”,उनले भने। साथै उनले सामाजिक संजाल तथा मिडियाहरुमा कुलमान नियुक्त हुने नहुने बारे आइरहेका समाचारमा सत्यता नरहेको पनि दावी गरेका छन्।

“सामाजिक संजालमा आएका लेखाइ र बोलाइमा कुनै पनि सत्यता छैन। अहिलेसम्म प्राधिकरणको कार्यकारी निर्देशकबारे कुनै प्रस्ताव नआएको जानकारी गराउँछु।”,उनले भने।

प्रकाशित : बिहिबार, भदौ ११, २०७७१०:२४

कोरोना खोपको नेपालमा परीक्षण: रुसले परीक्षणको लागि एक हजार खोप उपलब्ध गराउने !