ओलीले भने – ‘पार्टी अध्यक्ष दुई जना हुन्छ, दुई प्रधानमन्त्री वा दुई राष्ट्रपति हुँदैन’

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र आफूबीचको विवाद मिलिसकेको बताएका छन्।

शनिबार प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष ओलीले प्राइम टाइम्स टेलिभिजनमा पत्रकार ऋषि धमलासँगको अन्तर्वार्ताका क्रममा यस्तो बताएका हुन्। ओलीले प्रचण्डसँगको विवाद मिलिसकेको बताउँदै कोरोनाका कारण हात मिलाउन मात्र नपाएको बताए।

“प्रचण्ड र म बीचको असमझदारी मिलिसक्यो। मन मनै हात मिलाउने हो भने मिलाउन सकिन्छ। कोरोनाले गर्दा प्रचण्डजीसँग हात मिलाउन पाएको छैन।”,उनले भने।

ओलीले कार्यकारी अधिकरासहित प्रचण्डले पार्टीको जिम्मेवारी सम्हाल्ने र आफुले प्रधानमन्त्रीको हैसितमा सरकारको नेतृत्व गर्ने सहमति भएको जानकारी पनि गराए।

“मंसिरमै हामीले एउटा समझदारी गरेका थियौं, बिचमा केही तलमाथि भएपनि हामी त्यसमै छौं। पार्टीमा दुई जना अध्यक्ष छौं, कार्यकारी अध्यक्षका हिसावले मुख्यत सहमतकिा आधारमा पार्टी सञ्चालन गर्नुहुन्छ, म पनि उहाँसँग सरसल्लाह गरेर प्रधानमन्त्रीको अथोरिटीसहित सरकार चलाउँछु।”,उनले भने।

ओलीले पार्टी भित्र केही अन्तरविरोध रहेको स्वीकार गरे। प्रचण्डले केहि विषयमा बाहेक धेरै विषयमा आफूलाई सहयोग नै गरेको ओलीको भनाई छ।

“यो बीचमा केही अन्तरविरोध भएका हुन्। प्रचण्डजीले केही सन्दर्भमा कुरा उठाउनु भएकै हो। त्यसबाहेक उहाँबाट मैले सहयोग पाएको छु। अब झन् सहयोग बढाएर अघि बढ्ने समझदारी भएको छ”, उनले भने,”हामीबीच भागवण्डाको प्रश्‍न नै छैन। भागवण्डाको कुरै होइन। हुँदै जाने, मिल्दै जाने कुरालाई मिलाएर जान्छौं।” ओलीले पार्टीमा दुई जना अध्यक्ष भएजस्तै प्रधानमन्त्री दुई जना नहुने पनि बताए।

“सरकारमा प्रधानमन्त्री मण्डल हुँदैन, दुई जना प्रधानमन्त्री वा दुई जना राष्ट्रपति हुँदैन।”,उनले भने।

प्रकाशित : शनिबार, भदौ १३, २०७७१५:१८

उपप्रधानमन्त्री, गृहमन्त्री, स्वास्थ्यमन्त्री सहित सबै पदाधिकारीको परीक्षणको रिपोर्ट आयो !