एजेन्सी, मुम्बई । अभिनेता सुशान्त सिंह राजपूतको आ-त्मह-त्या प्रकरणपछि सिबिआइले लगातार अनुसन्धानमा जुटेको छ । यसप्रकरणमा सिबिआइले सुशान्तकी प्रेमिका रिया चक्रवर्तीसहित उनका भाइ शौविक चक्रवर्ती, सुशान्तका साथी सिद्धार्थ पिठानी र स्यामुअल मिरान्डा, उनका घरेलु निरज र दिपेशसँगले सोधपुछ गरिरहेको छ । यसबीच बलिउड अभिनेत्री तापसी पन्नुले रियाको पक्षमा ट्वीट गरेकी छन् । उनको ट्वीट सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।
अभिनेत्री तापसीले सुशान्तको निधन भएको लगभग साढे दुई महिनापछि पहिलो पटक यसबारेमा सामाजिक सञ्जालमार्फत आफ्नो भनाई व्यक्त गरेकी हुन् । उनको पोस्टलाई इन्टरनेट प्रयोगकर्ताले मन पराएका छैनन् । तापसीको यो ट्वीट फिटिक्कै मन नपराउनेको जमात बढिरहेको छ । जसका कारण उनलाई सामाजिक सञ्जालमा लगातार ट्रोल गरिँदै छ । खासका अभिनेत्री तापसीले आफ्नो उक्त ट्वीटमा रियाको समर्थन गरेकी छन् । उनले ट्वीटमा लेखेकी छन्, ‘म व्यक्तिगत रुपमा न त सुशान्तलाई चिन्दछु न नै रियालाई । तर न्यायपालिका अघि नै कसैलाई दोषी साबित गर्नु कुनै पनि हालतमा सही होइन भन्ने चाहिँ थाहा छ । कानूनमाथि विश्वास गर ।’
अभिनेत्री तापसीको यो ट्वीटपछि उनलाई थुप्रै मानिसले भन्नसम्म भनेका छन् । एक प्रयोगकर्ताले लेखेका छन्, ‘तापसी म तिम्रो निकै ठूलो फ्यान थिएँ.. इन्स्टाग्राममा फलो गर्दथेँ तर ट्वीटरमा तिमीले गलत व्यक्तिलाई साथ दिनु, गलत ट्वीट गर्नु.. यो सबै देखेर तिमी मेरो मनबाट बाहिर निस्किएकी छौ । तिमीले जतिसुकै राम्रो काम गर, तिमीले यो गलतलाई साथ दिनु तिम्रो लागि भारी हुनेछ ।’
अभिनेता सुशान्तको उक्त अभियोगमा सिबिआइले सोमबार रियासँग चौथो पटक सोधपुछ गरेको छ । साथै, सिबिआइको समूहले सोमबार नै सुशान्तकी बहिनी मितू सिंहसँग पनि सोधपुछ गर्ने जनाइएको छ । यसका लागि सिबिआइले मितूलाई समन पनि पठाएको छ । त्यस्तै, यो मुद्दासँग जोडिएका अन्य मानिसलाई पनि सोधपुछ गरिने सम्भावना छ ।