काठमाडौँ – कोरोना भाइरस संक्रमणको खोप नआएसम्म लकडाउन तथा निषेधाज्ञासहितको हालकै रणनीति अपनाउनुपर्ने संकेत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छ।

मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले कोरोना भाइरस संक्रमणको खोप नआएसम्म लकडाउन तथा निषेधाज्ञासहितको हालकै रणनीति अपनाउनुपर्ने संकेत गरेका हुन्।
भ्याक्सिन ननिस्किएसम्म यो रोगको कुनै उपचार नरहेका कारण लकडाउन तथा निषेधाज्ञा लगायतका रणनीतिको बिकल्प नहुने उनी बताउँछन्। विश्वमै कोरोना भाइरस संक्रमण रोक्ने लकडाउन र निषेधाज्ञाको विकल्प नदेखिएका कारण नेपालसँग पनि विकल्प नहुने उनको बुझाई छ।
“संसारमै ननिस्किएको अरु के नयाँ उपाय छ र मन्त्रालयले अपनाउने? यो कुरा विगतदेखि नै हामीले भन्दै आएका छौं। आवश्यक पर्ने ठाउँमा लकडाउन गर्ने हो।”,उनी भन्छन्।

जनस्तरबाट कुनै पनि प्रकारको लापरवाही हुन नहुने र स्वास्थ्यका मापदण्ड अपनाउनुपर्ने मन्त्रालय बताउँछन्। जनस्तरबाट स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाए मात्र कोरोना नियन्त्रण सहज हुने मन्त्रालयको भनाई छ।
सरकारले कोरोना भाइरसको सङ्क्रमण ५०० भन्दा बढी भएका जिल्लामा निषेधाज्ञा र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा बन्दाबन्दी गर्न निर्देशन दिसकेको छ।

कोभिड–१९ को खोप विश्वमा बनेर परीक्षणको क्रममा रहेको हुँदा खोपको सफल परीक्षणपश्चात मात्र खोप नेपाल ल्याउने सरकारको योजना छ। सरकारले खोप बनिसकेपछि सक्दो छिटो ल्याउन भित्र-भित्रै लबिङ गरिरहेको बताइन्छ।

