काठमाडौं – मंगलबारको पाँच घण्टा जीवनभर बिर्सन नसक्ने बन्यो । एक हजुरआमा पर्ने आफन्तलाई भेन्टिलेटरमा राखे बचाउन सकिने प्रयास कतैबाट सफल भएन । राजधानीका सबै कोभिड अस्पतालमा बिन्ती गरियो, तर सम्भव भएन । पागलझैं पाँच घण्टा भौंतारिँदा पनि भेन्टिलेटर कतै पाइएन । अन्ततः उहाँ बित्नुभयो । उहाँका खुला आँखाले ‘धिक्कार नातिहरु’ भनिरहेजस्तो लाग्यो । यो समाचार आजको नेपाल समाचारपत्रमा प्रकाशित छ।
भदौ १६, दिउँसो करिब १ बजेको थियो, मध्यपुर ठिमीमा बस्ने कामना न्यूज पब्लिकेसन्स्का एक पत्रकारलाई कोरोना पोजिटिभ भएको खबर आयो । स्वास्थ्य बिट सम्हाल्दै आएकी भगवती तिमल्सिनाले फोन गरेर रिपोर्टको जानकारी दिनुभयो । भदौ ३ गतेदेखि नै ‘वर्क फ्रम होम’ गर्दैआएका २७ वर्षे युवा पत्रकार यस गृहका पहिला संक्रमित भए । अवस्था लक्षणविहीन थियो, उनी तन्दुरुस्त देखिन्थे, तर प्रकाशकका नाताले ममा निहित अभिभावकत्व जुरमुरायो ।
नेपाल समाचारपत्रका समाचार सम्पादक दीपक रिजालले सशस्त्र प्रहरी बलको व्यवस्थापनमा सञ्चालित आइसोलेसन बेड मिलाउनुभयो । तर लाने कसरी? एम्बुलेन्सका लागि १०२ मा फोन गरेको ११३३ मा गर्न भनियो, तर तीन घण्टासम्म एम्बुलेन्स पाइएन । नेपाल एम्बुलेन्स सर्भिसका अध्यक्ष रञ्जित आचार्य असल मित्र पनि भएकाले उहाँलाई फोन गरें, उहाँले नम्र भएर स्थिति बताउनुभयो– ‘तपाईंभन्दा अघि हामीसँग ३९ बिरामी छन्, तीमध्ये कति कोरोनाका लक्षण देखिएका अलि गम्भीर प्रकृतिका छन्, तपाईंको बिरामी सद्दे हुनुहुन्छ, प्राथमिकतामा पार्न गाह्रो प¥यो।’
मध्यपुरको घना बस्तीमा दुई कोठा भाडामा लिएर मामा र भाइसँग बस्दै आएका संक्रमित पत्रकारलाई जतिसक्दो छिटो आइसोलेसनमा लानुथियो । चिन्तित मामा र भाइलाई जिम्मेवार नागरिक बनेर उक्त संक्रमित पत्रकारले नै वडाध्यक्ष सुरज खड्कालाई भनेर स्वाब परीक्षणको व्यवस्था गरिदिन अनुरोध गर्नुभयो । तर, परीक्षणका लागि पाँच दिन कुर्नुपर्ने जबाफ प्राप्त भयो । अन्ततः संक्रमित पत्रकारलाई आइसोलेसनमा त लगियो तर भाइ र मामालाई संक्रमण रहेछ र उनीहरुबाट अरुलाई यही पाँच दिनमा स¥यो भने ! सरकारी व्यवस्थापन र अवस्थाले घुमाइरहेको बेला नाता पर्ने ८९ वर्षीया हजुरआमाको गम्भीर अवस्थाको खबर आयो ।
उहाँलाई तीन दिनअघि कोरोना संक्रमण भएको थियो । उहाँको परिवारमा एक जना नर्स पनि हुनुहुन्छ । पहिला उहाँलाई पोजिटिभ देखियो । परिवारमा रहेका ९ सदस्यले नै लैनचौर बैंकक्वेटमा परीक्षण गराउनुभयो । नर्सका श्रीमान्बाहेक सबैमा नेगेटिभ देखियो भनियो । सबै सामान्य जीवनमा फर्किए । तर दुई दिनपछि पुनः वडा कार्यालयले फोन गरेर अरु दुई जनामा पनि पोजिटिभ देखियो भन्यो । रिपोर्टको भरपर्दो परिणाम नभएका कारण परिवारका सबैसँगसँगै खाने–बस्ने हुने नै भयो, कस्तो तनाब !
परिवारका तन्नेरीहरुको अवस्था सामान्य भएपनि हजुरआमा गम्भीर हुनुभएकाले तत्काल भेन्टिलेटरमा राख्नुको विकल्प देखिएन । सरकारी अस्पताल भरिभराउ भएको जानकारी आयो । ललितपुरका मेयर चिरिबाबु महर्जन र ललितपुर महानगरका कोभिड–१९ फोकल पर्सन देवी गुरुङले अस्पतालहरुमा फोन गरेर भेन्टिलेटर खोज्न सघाउनुभयो । तर सम्भव भएन । पाटन अस्पताल, शिक्षण अस्पताल, टेकु अस्पताल सबैतिर माथिल्लो स्रोतसम्म पुगेर बेड खोजियो, कुनै निकास निस्केन । जता फोन ग¥यो, सबै अस्पताल भरिभराउ ।
संघीय सरकारको तयारी नै पर्याप्त देखिएन, स्थानीयले मात्र के गरोस् ! नर्स बुहारीले नै उहाँलाई घरमै अक्सिजन दिनुभयो, तर त्यसबाट सुधार भएन । अस्पतालमा बेड खोज्नका लागि गुरुङले दिनुभएको सम्पर्क व्यक्तिहरु अत्यन्त नरम व्यवहारका थिए । तर, प्रतीक्षा सूचीमा बस्न उनीहरुले दिएको सुझाव हाम्रालागि पर्याप्त थिएन ।