गुल्मी – बागलुङको ढोरपाटन नगरपालिकामा बुधबार राति पहिरामा परी हराइरहेकामध्ये तीन जनाको श-व गुल्मीको बढीघाट खोलामा फेला परेको छ ।
मुसिकोट नगरपालिका –५ इन्द्रेगौंँडा ७ को सुदी र चन्द्रकोट गाउँपालिका –८ तीनसिमलस्थित बढिघाट खोला किनारमा श-व फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केदार पन्थले जानकारी दिए।
बढीघाट खोलामा ठूलो बाढी आएपछि स्थानीयवासीले बगाएर ल्याएको दाउरा सङ्कलन गर्ने क्रममा किनारमा श-व देखेपछि प्रहरीलाई खबर गरेका थिए । फेला परेका श-वमध्ये एक बालक र अन्य दुई जना अन्दाजी ३५÷४० वर्षीया महिला भएको प्रहरीले जनाएको छ ।
उक्त पहिरोग्रस्त क्षेत्रबाट बगेको बढीघाट खोला धेरै मात्रामा गुल्मीको भूभाग हुँदै बग्ने भएका कारण बाढीपहिरामा हराइरहेका अन्य गुल्मीमा भेटिन सक्ने अनुमान गरिएको छ ।
बुधबार राति परेको अविरल वर्षाका कारण आएको बाढीले बढीघाट खोलामा पानीको बहाव बढेकाले स्थानीय प्रशासनले खोला किनारमा बसोबास गर्ने मानिसलाई सुरक्षित रहन आग्रह गरेको छ ।
![]()

