भक्तपुर – मिर्गौला रोगबाट पीडित एक महिलाको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु भएको छ ।
मध्यपुरथिमि नगरपालिका–६ दुवाफल्चाकी ४० वर्षीया महिलाको पाटन अस्पतालमा उपचारकै क्रममा आज मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिए।
ती महिलालाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि यही भदौ ३ गते अस्पताल भर्ना गरिएकामा उपचारकै क्रममा गए राति मृत्यु भएको नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए ।
मृतक महिलाका श्रीमान्सहित परिवारका अन्य दुई जनामा पनि सङ्क्रमण पुष्टि भएपछि होम आइसोलेशनमा राखिएको बताइएको छ । यससँगै भक्तपुरमा कोरोना सङ्क्रमणबाट मृत्यु हुने १० जना पुगेका छन् ।
तीमध्ये पाँच मध्यपुरथिमि, चार सूर्यविनायक र एक जना भक्तपुर नगरपालिकाका हुन् ।