काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सरकारका तर्फबाट राष्ट्रिय सभामा मनोनित हुने सदस्यमा उपाध्यक्ष बामदेव गौतमलाई पठाउने निर्णय गरेको छ । प्रतिनिधिसभामा बर्दिया– १ बाट पराजित गौतमलाई राष्ट्रिय सभाको सदस्यमा मनोनित गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावलाई सचिवालय बैठकले सर्वसम्मत अनुमोदन गरेको हो । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।
गौतमलाई सिफारिस गर्ने कुरामा सहजिकरण भने स्वयम अर्थमन्त्री डा. युवराज खतिवडाले गरिदिएका हुन् । खतिवडालाई सरकारले मनोनित गरेर अर्थ मन्त्री बनाएको थियो । राष्ट्रियसभामा गोलाप्रथाबाट दुई वर्षे कार्यकालका लागि चयन भएपछि उनको कार्यकाल गत फागनु २० गते सकिएको थियो । तर, संवैधानिक व्यवस्थाअनुसार उनि ६ महिना संघीय संसदको सदस्य बिना पनि मन्त्री बन्ने । उनको कार्यकाल भदौ २० गते सकिदैछ ।
कार्यकाल सकिन लाग्दा सिफारिसका विषयमा उपाध्यक्ष गौतमले दावी गरे । गत फाुगन १४ गतेको निर्णय कार्यान्वयन हुनुपर्ने माग गरेपछि ओली अप्ठेरोमा परेका थिए । उनले खतिवडालाई नै अर्थमन्त्रीमा निरन्तरता दिने पहल गरिरहेका थिए । विभिन्न विकल्प प्रस्तुत गरेर पार्टी भित्रका नेताहरुलाई मनाउने कोसिस गरिरहेका बेला खतिवडाले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेर आफुलाई विवादमा नतान्न आग्रह गरे । उनले आफुभन्दा पार्टी ठुलो नभएको भन्दै गौतमलाई राष्ट्रियसभामा लैजान आग्रह गरेका हुन् ।
खतिवडाले बरु आफु प्रधानमन्त्रीको सहयोगीका रुपमा काम गर्न तयार रहेको जानकारी पनि गराएका थिए । ‘बामदेव जस्तो सम्मानित नेतालाई संसदमा पठाउन आफू सधै सहयोगी बन्ने भन्दै पार्टीलाई एकताबद्ध बनाएर लैजान भएपनि उहालाई नै सिफारिस गर्नुहोस्’, खतिवडाको भनाई उदृत गर्दै एक नेताले जानकारी दिए ।
खतिवडाको विचार सुनेपछि प्रधानमन्त्री पनि गौतमलाई लैजान सहमत भएका थिए ।
विहिवार अपरान्ह बसेको सचिवालय बैठकले ओलीकै प्रस्तावमा गौतमलाई राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । ‘आजको बैठकमा सम्मानीय प्रधानमन्त्रीज्यूले पार्टी उपाध्यक्ष बामदेव गौतमलाई मन्त्रीपरिषद निर्णयमार्फत राष्ट्रियसभा सदस्यमा मनोनित गर्ने जानकारी दिनु भएको छ’, बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘मन्त्रीपरिषद निर्णय गरे लगत्तै उहाँको मनोनयनका लागि राष्ट्रपति समक्ष सिफारिस गरिनेछ ।’
बामदेवको चौथो प्रयासमा उनि संघीय संसदमा पुग्न सफल भएका हुन् । बर्दियामा पराजित भएपछि उनि डोल्पाबाट उपनिर्वाचन गराउदै उठ्न खोजेका थिए । त्यसपछि काठमाडौं–६, स्वर्गिय रविन्द्र अधिकारीको कास्की–१ बाट उठ्ने प्रयास गरेपनि विरोध भएपछि पछाडी हटेका थिए । गत फागुन २० गते २ वर्षे कार्यकाल सकिएका १९ जना राष्ट्रियसभा सदस्य मध्येबाट ल्याउने चौथो प्रयास भएको थियो ।
तर, गौतमले संविधान संसोधन गरेर प्रधानमन्त्री बनाउने बाटो खुल्ला गरेमा मात्रै राष्ट्रिय सभा सदस्यका लागि मञ्जुर हुने शर्त राखे । तर, प्रधानमन्त्री ओलीले गौतमका लागि संविधान संसोधन गर्न नसकिने अडान राखेपछि गौतमको संघीय संसदमा बाटो चौथो पटक बन्द भएको थियो ।