देउवालाई गलाएरै छाड्ने तयारी, सामूहिक राजीनामाको शृंखला हुन सक्ने !

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको आन्तरिक किचलो बढ्दै गएको छ । सभापति शेरबहादुर देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच चुलिएको आन्तरिक विवाद थप उत्कर्षमा पुगेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा प्रकाशित छ।

सभापति देउवाले महाधिवेशन भएको दुई महिनाभित्र गर्नुपर्ने विभाग गठनको काम चार वर्षपछि १४औं महाधिवेशनको कार्यतालिका घोषणा भएपछि गठन गर्न थालेपछि विवाद चर्किएको हो । सभापति देउवाले पौडेल पक्षको सहमतिकै बीचबाट बीसवटा विभागलाई पूर्णता दिइसक्नुभएको छ । बाँकी विभागलाई पनि पूर्णता दिने गृहकार्यमा सभापति लागेपछि पौडेल पक्ष भने रुष्ट बनेको छ ।

विभाग गठन, केन्द्रीय सदस्य थप्नेदेखि क्रियाशील सदस्यतामा समेत आफ्नो बहुमत पु¥याउने गरी कदम उठाएपछि पौडेल पक्षले सभापति देउवा पार्टीको विधि, विधान र पद्धतिविपरीत चलेको भन्दै उक्त कदम सच्याउन धर्ना र अनशनमा समेत उत्रिने तयारीमा जुटेको छ । देउवाले महाधिवेशनलाई केन्द्रित गरेर गरेका विधान र प्रक्रियाविपरीतका निर्णयको बारेमा अध्ययन गर्न गठित तीन सदस्यीय समितिले आवश्यक परे केन्द्रीय सदस्यबाट सामूहिक राजीनामा दिएर भए पनि अहिले विधानवितरीतको निर्णय खारेज गर्नुपर्ने सुझाव दिएको छ ।

केन्द्रीय सदस्यहरु गुरुराज घिमिरे, बद्री पाण्डे र जीवन परियार सम्मिलित समितिले पार्टीभित्रका गलत निर्णय र त्यसविरुद्धको प्रतिवादका कार्यक्रमसमेत सुझाएर तयार पारेको प्रतिवेदन आफ्नो समूहका सबै नेतालाई वितरण गरिसकिएको छ । पार्टीभित्र आगामी महाधिवेशनमा आफ्नो पक्षमा बहुमत पु¥याउन सभापति देउवाले विजय गच्छदारसहितका नेताहरुलाई पार्टी प्रवेश गराउनुभएको थियो । गत महाधिवेशनले २१ जना मनोनितसहित ८५ जना केन्द्रीय सदस्य चयन गरेको थियो । हाल एकता प्रक्रियाबाट पाँच जनाभन्दा केन्द्रीय सदस्य थपिएका छन् ।

नेपाली कांग्रेसका नेता रामशरण महतले सभापति देउवा पार्टीको विधानअनुसार नै अगाडि बढेको बताउनुभयो । उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘लामो समय सभापतिले पौडेल पक्षसँग सहमति कायम गरेर अगाडि बढ्न कुर्नुभएको हो, कुर्दाकुर्दा सहमति नजनाएपछि विधानअनुसार विभागमा सबै पक्षलाई समावेश गरेर पूर्णता दिने प्रक्रिया अगाडि बढाउनुभएको हो ।’

पार्टीको विधानअनुसार महाधिवेशन भएको २ महिनाभित्र र संशोधन विधानअनुसार महाधिवेशन भएको ६ महिनाभित्र विभागहरुलाई पूर्णता दिनुपर्ने प्रावधान छ । तर चार वर्षे कार्यकाल सकिएपछि सभापति देउवाले थपिएको अवधिमा धमाधम विभाग गठनको कामलाई अगाडि बढाउनुभएपछि कांग्रेसभित्रको विवाद सतहमा आएको हो । तर नेता महतले सभापति पार्टीको विधानअनुसार नै अगाडि बढेको दाबी गर्नुभयो ।

प्रकाशित : शुक्रबार, भदौ १९, २०७७०४:३१

प्राधिकरणमा कुलमानलाई दोहोर्याउने कुरामा ओली सहमत !