एजेन्सी – आउने सिजनमा लुइस स्वारेज बार्सिलोनामा नरहने लगभग पक्का भएको छ। क्लबका नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानले स्वारेजलाई आफ्नो योजनामा राखेका छैनन्। उनले आउने सिजनमा स्वारेजलाई लिएर कुनै योजना नबनाएको स्पष्ट पारिसकेका छन्।
स्वारेजको बार्सिलोनासँग अझै एक वर्ष सम्झौता रहेको छ । प्रशिक्षकले नै स्वारेज आफ्नो योजनामा नरहेपछि उनको बहिर्गमन लगभग पक्का जस्तै भएको छ।
अहिले स्वारेज कता जाने हुन् भन्ने बारे चर्चा शुरु भएको छ। उनीलाई लिएर धेरै क्लबले चासो व्यक्त गरिरहेका छन्। तर, उनको महँगो पारिश्रमिक भने धेरै क्लबहरुलाई टाउको दुखाइको विषय बनिरहेको छ।
यसै बीच उनी इटालियन क्लब युभेन्टस जान सहमत भएको समाचार बाहिरिएको छ। युभेन्टस र स्वारेज एक किसिमको सहमतिमा पुगिसकेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्।
बार्सिलोनाका फरवार्ड लुइस स्वारेज इटालियन क्लब युभेन्टस जान सहमत भइसकेको र अब मात्रै बार्सिलोनाको सहमति बाँकि रहेको मिडियाहरुको दावी छ।
इटालियन मिडियाहरुका अनुसार युभेन्टस अर्जेन्टिनी फरवार्ड पाउलो डिबाला र क्रिस्टियानो रोनाल्डोलाई साथ दिने एक खेलाडीको खोजिमा छ। जसको लागि स्वारेज उत्कृष्ट हुन सक्ने युभेन्टसको निष्कर्ष रहेको र सोहि अनुरुप युभेन्टस स्वारेजसँग सम्झौता नजिक पुगेको इटालियन मिडियाहरु बताउँछन्।