काठमाडौँ – निषेधाज्ञाका बाबजुत काठमाडौँमा कोरोना भाइरस संक्रमितको संख्या लगातार बढ्ने क्रममा देखिएको छ। निषेधाज्ञा पछि कोरोना भाइरस संक्रमण नियन्त्रणमा आउने नुअमान गरिएको भएता पनि त्यसो हुन सकेको छैन।
आइतबार मात्रै उपत्यकामा ३५४ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ती मध्ये काठमाडौंमा २९० जना, ललितपुरमा ३२ र भक्तपुरमा ३२ जना रहेका छन्।
यससँगै काठमाडौँ उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या ८ हजार नाघिसकेको छ। आइतबार दिउँसो सम्म उपत्यकामा कोरोना संक्रमितको संख्या ८ हजार २ सय नाघेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
देशभरका संक्रमित मध्ये १७ प्रतिशत भन्दा बढी संक्रमित उपत्यकामा फेला परेका छन्। अहिले सम्म काठमाडौँ जिल्लामा ६ हजार ६ सय २४, भक्तपुरमा ७ सय ११ र ललितपुरमा ९ सय १९ संक्रमित फेला परेका छन्।
गएको आइतबार पछि मात्रै उपत्यकामा ३ हजार भन्दा बढी कोरोना संक्रमित फेला परिसकेका छन्। मन्त्रालयको तथ्यांकका अनुसार आइतबार पछि मात्र उपत्यकामा ३ हजार २ सय ५७ संक्रमित फेला परेका छन्।
जस मध्ये २ हजार ६ सय ६४ जना संक्रमित काठमाडौँमा, २ सय ८० जना भक्तपुरमा र ३ सय १३ जना ललितपुरमा फेला परेका छन्।