प्रचण्डले स्पष्ट बनिदिए भने- ‘मेराे घरबेटीसँग गोरु बेचेको पनि साइनो छैन’

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शैलुङ इन्टरप्राइजेजका प्रमुखसँग आफ्नो कुनै पनि नाता नरहेको स्पष्ट पारेका छन्।

आइतबार जनता टेलिभिजनसँग कुराकानी गर्दै प्रचण्डले शैलुङ इन्टरप्राइजेजका प्रमुखसमेत रहेका आफ्नाे घरबेटी शारदाप्रसाद अधिकारीसँग कुनै पनि नाता नरहेको स्पष्ट पारेका हुन्।

प्रचण्डले अधिकारीसँग आफ्नो गोरु बेचेको साइनो पनि नरहेको बताए। आफ्नो घरबेटीको रुपमा रहेका अधिकारीसँग जोडेर विभिन्न समाचार आउने गरेको प्रति टिप्पणी गर्दै उनले कहाँ ठेक्का लिन्छन्, कहाँ के गर्छन् भन्ने कुरा आफूलाई थाहा नहुने उनले स्पष्ट पारे।

“पटकपटक यो मेरो घरबेटी भन्ने कुरा आएको छ। अब यो घरबेटीले कहाँ ठेक्का लिन्छन्? के गर्छन्? मलाई केही थाहा पनि छैन। यी ठेक्का भनेका त म यो घरमा आउनुभन्दा धेरै पहिलेका ठेक्का हुन् ती। मसँग कुनै गोरु बेचेको साइनो पनि छैन”,उनले भने।

अधिकारी शैलुङ कन्स्ट्रक्सन कम्पनीका मालिक हुने भने उनी नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवासका घरबेटी समेत रहेका छन्। मल ल्याउने ठेक्का लिएर समयमा मल ल्याउन नसकेकारण अहिले उनको अहिले सर्वत्र आलोचना भैरहेको छ।

प्रचण्डले पनि मल प्रकरणमा आफ्नो पनि चासो रहेको रहेको बताए। दोषी देखिएको खण्डमा कसैलाई पनि उन्मुक्ति दिन नहुने उनको भनाई छ।

“यो मल प्रकरण के भएको हो भनेर हिजो मात्रै पनि मैले कृषिमन्त्रीसँग पनि कुरा गरेँ। कसैले बदमासी गरेको छ भने कारबाही गर्दा हुन्छ। मेरो त्यसमा कुनै आपत्ति छैन।”,उनले भने। उनको घरमा डेरा बस्न जानुभन्दा अघिदेखिका ठेक्कामा समेत आफ्नो नाम जोडेर समाचार आउने गरेको प्रति उनले दुखेसो समेत गरे।

प्रकाशित : सोमबार, भदौ २२, २०७७०१:१९

बाबुरामले भने – “जनतालाई राहत दिन राष्ट्रपति/प्रधानमन्त्री लगायत सबैको तलब रोकौं’