महामारीका बीच भारत जान सुदूरपश्चिमेलीको लर्को: भन्छन् – ‘भोकै मर्नुभन्दा भारत जान्छौं’

धनगढी । त्रिनगर नाका हुँदै दैनिक चार सय बढी नेपाली भारत जान थालेका छन् । कञ्चनपुरको त्रिनगर नाका हुँदै लक डाउन अवधिमा १८ हजार सुदूरपश्चिमेली रोजगारीका लागि भारत गएका हुन् । उनीहरूले महामारीमा छाक टार्नसमेत समस्या भएपछि भारतकै भरमा पेट पाल्न हिँडेको बताएका छन् । ‘घरमा खाद्यान्न अभाव भइसक्यो, आठ जनाको परिवार छ ।

अत्तरियाका रामबहादुर कामीले भने, ‘भोकै मर्नुभन्दा महामारीसँग लड्दै कामका लागि भारत जाँदै छु ।’ उनी पछिल्लोपटक गत चैतमा घर आएका थिए । नेपालमा रोजगार नहुँदा दैनिक चार सय बढी सुदूरपश्चिमीले कञ्चनपुरको त्रिनगर नाका हुँदै भारत प्रस्थान गरिरहेका छन् । उनीहरूले रोगको भन्दा भोक समस्या निम्तिएको भन्दै रोजगारी मिल्ने मुलुक भारत जान थालेको बताएका हुन् । ‘नेपालमा रोजगारी छैन, सरकारले रोजगारीको आश्वासन मात्रै दिन्छ’, कृष्णपुरका मोहन रौतेडाले भने, ‘भोकमरी लागिसक्यो भारत नगई भएन ।’ यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

भारत कोरोना संक्रमणको जोखिममा विश्वमै तेस्रो नम्बरमा छ । तर, खान लाउनको समेत समस्या भएपछि सुदूरपश्चिमेलीहरू महामारीको जोखिममै कामका लागि भारत धाइरहेका छन् ।

कञ्चनपुरको त्रिनगर नाकाबाट भदौ महिनाको हालसम्म २ हजार ५ सय नेपाली स्वदेश भित्रिएका छन् भने ५ हजार ५ सय नेपाली कामको सिलसिलामा भारतको बेग्लोर, चम्पावत, हरियाणा लगायतका स्थानमा गएका त्रिनगर नाकामा तथ्यांक संकलन गरिरहेका सीमा सहायता कक्षका सहायक कम्प्युटर अपरेटर प्रकाश सिंह धामीले बताए । उनले स्वदेश फर्किनेभन्दा भारत जाने अत्यधिक रहेको बताए ।

स्वदेशमा बेरोजगारीको समस्या झेल्दै महामारीमै भारत जानुपर्ने अवस्थाको अन्त्य भने प्रदेश सरकारले गर्न सकेको छैन । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले अहिलेको समयमा भारत जान नमिल्ने जनाएको छ ।

अहिले भारत सरकारले कामका लागि मजदुर माग नगरे पनि औषधि उपचारका लागि भन्दै नेपाली जाने गरेको मन्त्रालयले बताएको छ । प्रवक्ता तेजप्रकाश जोशीले भारतबाट आएका सुदूरपश्चिमेलीहरूलाई रोजगारीका अवसरहरू ल्याउन प्रदेश सरकारले तयारी गरिरहेको बताए । उनले महामारीको जोखिममा भारत नजान आग्रह गरे ।

प्रकाशित : सोमबार, भदौ २२, २०७७०२:३३

अन्योलमा ओली: यसै साता मन्त्रिमण्डल पुनर्गठन गर्ने !