काठमाडौँ – सरकार, प्रधानमन्त्री केपी शर्मा ओली र सरकारका मन्त्रीको खुलेरै आलोचना गर्नेमा कोहि अगाडी छन् भने ती पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराई हुन्। सरकारले गरेका जुनसुकै कार्यमा भट्टराई सामाजिक संजाल मार्फत टिप्पणी गर्छन्।
केहि दिन अगाडी अर्थमन्त्री डाक्टर युवराज खतिवडाले राजिनामा दिएपछि भट्टराईले डा. खतिवडाको विदाइमा आँसु चुहाउने ठाउँ नभएको बताएका थिए। विज्ञको रूपमा मन्त्री बनेका खतिवडाले खासै काम गर्न नसकेको उनको भनाई थियो।
भट्टराईको उक्त अभिव्यक्ति प्रति प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले टिप्पणी गर्दै गोहीको आँसु झारेजस्तो नाटक नगर्न चेतावनी दिएका छन्।
“विगत तीन वर्षसम्म अर्थमन्त्री हुँदा डाक्टर युवराज खतिवडाका राम्रा कामको पक्षपोषण महाशयले कहिले गर्नुभएको थियो र? अहिले उहाँ त्यस जिम्मेवारीबाट बिदाइ हुँदा गोहीका आँसु झारेजस्तो गर्नु र रूवाबासीको नक्कली नाटक प्रदर्शन गर्नु? अरूको सम्मान नगर्नेले लोकबाट कसरी सम्मान र मर्यादा पाउँछ? कसरी त्यसको अपेक्षा गर्नु?”,थापाले सामाजिक संजाल फेसबुक मार्फत भनेका छन्।
पूर्वप्रधानमन्त्री भइसकेका व्यक्तिले सामाजिक मर्यादा र शिष्टता पोलेर खाएपछि भट्टराई गाली शिरोमणि भएको थापाको आरोप छ। सामाजिक सञ्जालमा लेखेझै ओलीसँग आँखा जुधाएर सामुन्नेमा उभिएर भन्न थापाले भट्टराईलाई चुनौती पनि दिएका छन्।
“प्रधानमन्त्री केपी शर्मा ओलीसँग तपाईले सामाजिक सञ्जालमा लेखेझै आँखा जुधाएर सामुन्नेमा उभिएर भन्न सक्नुहन्छ?”,थापाले प्रश्न गरेका छन्। साथै थापाले भट्टराई फण्डिङ पीएचडी रहेको भन्दै फण्डिङको ऋण चुक्ता गर्दै हुनुहन्छ कि नुनको सोझो गरिरहेको आरोप पनि लगाएका छन्।

