काठमाडौँ – सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाले कोरोनाका कारण रोजगारी गुमाएका मजदुरलाई राहत प्रदानलगायतमा झन्डै डेढ करोड रुपैयाँ खर्च गरेको हिसाब प्रशासनलाई बुझाएको छ। तर, गाउँपालिकाको वडा नम्बर ४ मा बस्ने सुकुमबासीको मुहार भने मलिन छ। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।
सुकुमबासी प्रमीला मण्डलको परिवार घामपानी मुस्किलले छेक्ने छाप्रोमा बस्न थालेको वर्षाैं भयो। बाटो छेउकै पाँच हात ऐलानी जग्गामा परालको छानोको छाप्रोमा प्रमीलाको परिवारका ६ जना बस्दै आएका छन्। प्रमीलाको छाप्रोसँगै टाँसिएको आधारभूत विद्यालयको प्रांगणमा सोमबार ‘चु जी’ नामक संस्थाले दिएको राहत गाउँपालिकाले वितरण गर्दै थियो। पहुँचवाला र हुनेखानेसमेतले राहतको पोको हात पारिरहँदा सुकुमबासी प्रमीला भने राहत पाउनुपर्ने सूचीमा थिइनन्। राहत लिन गएकी उनी रित्तो हात फर्किनुप¥यो।
मजदुरीमा अडिएको उनको परिवारको नाम राहत पाउनु सूचीमा नअटाउनुको विडम्बना भएको स्थानीय शैलेन्द्र यादवले बताए। गरिबका लागि राहत आएको हो भने प्रमीला जस्तो गरिब यस वडामा दुर्लभ भेटिन्छन्’ यादवले भने, ‘राहत अन्नपात नहुनेलाई दिने हो कि पहुँच हुनेलाई ?’
पाँच महिनाअघिसम्म प्रमीलाको परिवारमा तीनजना कमाउने थिए। त्यो कमाइबाट उनको घर राम्रोसँग चलेको थियो। अरुथोकको चिन्ता भए पनि चुलो बाल्ने चिन्ता थिएन। प्रमीला आफू कृषि मजदुरी (जनबनी) गर्थिन्। उनका पति पवन मण्डल निर्माणको काम गर्थे। एउटा छोरा बुबासँग मजदुरी गर्थे। पहिलो लकडाउन सकिएपछि प्रमीला र पवनले केही दिन काम पाएका थिए तर निषेधाज्ञा सुरुपछि बेकामे भए। काम नभएपछि कमाइ रोकियो, चुलो पनि बल्न बन्द भयो।
‘नम्बरी जग्गा हुनेहरुले राहत सामग्री घर लगें,’ प्रमीलाले भनिन्, ‘मैले बिन्ती गर्दा पनि रित्तो हात फर्किनुप¥यो। राहत माग्न जाँदा गाउँपालिकाका पदाधिकारीले यो गरिबका लागि हो भनेर हप्काएर फर्काउँछन्। एकबित्ता जग्गा नहुने हामी कसरी धनी भयौं। घरमा खाने अन्न छैन। छाप्रो चुहिँदा टाल्ने सामथर््य छैन। बिरामी पर्दा उपचार गराउने औकात छैन।’ तर गाउँपालिकाको गरिब परिभाषाभित्र प्रमीला जस्ता सुकुमबासी अटाउँदैनन्। गरिबले पाउने सुविधा हामीले गाउँपालिकाबाट कहिल्यैं पाएनौं, उनले भनिन्, ‘घरैअगाडि राहत बाँडे, हुनेखानेले राहतको पोका बोकेर लगे। तर हामी हेरेको हेरै भयौं।’