आयल निगमले नै विभिन्न राजमार्गमा पम्प स्थापना गर्ने !

काठमाडौँ, भदौ २५ गते । आमनागरिकलाई सहज र विश्वसनीय रूपमा पेट्रोलियम पदार्थ उपलब्ध गराउने उद्देश्यसहित नेपाल आयल निगमले नै मुलुकका विभिन्न राजमार्गमा पेट्रोल पम्प स्थापना गरी सञ्चालनमा ल्याउने भएको छ । यो समाचार आजको गोरखापत्रमा प्रकाशित छ।

चाडपर्व तथा विशेष परिस्थितिमा समेत आमनागरिकले सहज रूपमा पेट्रोलियम पदार्थ प्राप्त गर्ने उद्देश्यसहित राजमार्गमा पेट्रोल पम्प सञ्चालनमा ल्याउन लागिएको आयल निगमका नायब कार्यकारी निर्देशक सुरेन्द्र भट्टराईले जानकारी दिनुभयो ।

पूर्व–पश्चिम राजमार्ग, हुलाकी राजमार्ग, मदन भण्डारी राजमार्ग र कर्णाली राजमार्गमा पेट्रोल पम्प स्थापना गरी सञ्चालनमा ल्याउन निगमले एक कार्यदल गठन गरी अध्ययन कार्यसमेत सुरु गरेको छ । निगमले राजमार्गमा २० वटा पेट्रोल पम्प सञ्चालनमा ल्याउन लागेको हो ।

नागरिकलाई सहज र सरल रूपमा विश्वसनीय रूपले पेट्रोलियम पदार्थ उपलब्ध गराउने सरकारको नीति तथा कार्यक्रमअनुसार नै निगमले राजमार्गमा पेट्रोल पम्प सञ्चालन गर्न लागेको जनाइएको छ ।

राजमार्गमा पेट्रोल पम्प स्थापना तथा सञ्चालन निगमको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा सूचीकृत भई निगमको सञ्चालक समितिबाट पारित भइसकेको भट्टराईले स्पष्ट पार्नुभयो । पेट्रोलियम पदार्थको थोक बिक्रीवितरण निगमको मुख्य काम हुँदाहुँदै उपभोक्ताको हितका लागि तथा सरकारको नीति अन्तर्गत सबै प्रदेशमा पर्ने गरी राजमार्गमा पेट्रोल पम्प सञ्चालन गर्न लागिएको उहाँले स्पष्ट पार्नुभयो । पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्रीवितरणमा राज्यको उपस्थिति कायम गर्न निगमले राजमार्गमा पेट्रोल पम्प सञ्चालनमा ल्याउन लागेको उहाँको भनाइ छ ।

“चाडपर्व तथा विभिन्न अवस्थामा निजी पेट्रोल पम्प सञ्चालनमा आएको पाइँदैन । सञ्चालकको कामविशेषका कारण निजी पेट्रोल पम्पहरू कहिलेकाहीँ सञ्चालनमा आएका हुँदैनन्”, उहाँले थप्नुभयो, “तर निगमका पेट्रोल पम्पहरू चाडपर्व, विशेष परिस्थिति वा कसैको व्यक्तिगत कारणले बन्द हुँदैनन् । उपभोक्ताले चौबीसै घण्टा सेवा लिन सक्छन् । त्यसैले निगमले राजमार्गमा पेट्रोल पम्प सञ्चालनमा ल्याउन लागेको हो । ” अहिले निगम, सेना, प्रहरीलगायत राज्यस्तरबाट सञ्चालित पेट्रोल पम्पहरू यसका उदाहरण रहेको उहाँको भनाइ छ ।

निगमका प्रवक्ता विनीतमणि उपाध्यायले राजमार्गमा पेट्रोल पम्प सञ्चालन गर्न निगमको आपूर्ति तथा वितरण विभागका उपनिर्देशकको संयोजकत्वमा एक समिति गठन गरी आवश्यक ठाउँ पहिचान गर्न अध्ययन कार्य अगाडि बढाइएको जानकारी दिनुभयो । भैरहवामा रहेकोे निगमको एकमात्र पेट्रोल पम्पबाट चाडपर्व तथा विशेष परिस्थितिमा समेत आमनागरिकलाई सहज रूपमा पेट्रोलियम पदार्थ उपलब्ध गराउँदै आएको प्रवक्ता उपाध्यायले स्पष्ट पार्नुुभयो ।

प्रकाशित : बिहिबार, भदौ २५, २०७७०२:११

नेपाली युवतीलाई भारत लाग्दै गरेको अवस्थामा ६ युवक पक्राउ !