ढोरपाटनका बाढीपीडितलाई दिल खोलेर सहयोग गर्दै पल र दुर्गेश !

काठमाडौं । अभिनेता पल शाह र गायक दुर्गेश थापाले बागलुङ ढोरपाटनका बाढीपीडितलाई सहयोग प्रदान गरेका छन् । गएको भदौ १७ गते ढोरपाटन नगरपालिका वडा नं ८ र ९ मा पहिरोमा परी विस्थापित भएका परिवारलाई सहयोग गर्न उनीहरू त्यसतर्फ गएका हुन् । उनीहरुले सामाजिक सञ्जालमार्फत यसबारेमा जानकारी दिएका छन् । बागलुङ भुजिखोलामा आएको बाढीपहिरोले २५ घर बगाएको थियो भने ४१ जना बेपत्ता भएका थिए । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

यी दुई कलाकारले पाँच दिनअघि फेसबुकमा सहयोगका लागि अपिल गरेका थिए । उक्त आग्रहपछि जम्मा भएको सहयोग लिएर मंगलबार बिहान पल र दुर्गेश बागलुङ हानिएका थिए । उनीहरुले बाढीपीडितका लागि सहयोग जुटाएर सहयोगी भावना देखाएका हुन् । सामाजिक सञ्जालमा मंगलबार अभिनेता पलले लेखेका छन्, ‘बागलुङका बाढीपहिरो पीडितका लागि सिरक, डसना, नुन, तेल चामल सबै लोड भयो है । अनि आज बिहानको खाना आबुखैरेनीको झरनाको तल ।’

यस्तै गायक तथा मोडल दुर्गेशले पहिरो पीडितको घाउमा मल्हम लगाउन आफूहरूले सानो सहयोग जुटाएको बताएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘पहिरो पीडितको सहयोगका लागि हामी हिँडिसकेका छौं । उहाँहरूको पीडामा थोरै भए पनि मल्हम लगाउने प्रयास स्वरूप यो कदम चालेका हौं । यतिबेला हामी यात्राअघि बढाउँदै छौं ।’ अभिनेता पलले केही समयअघि पनि कालिकोट पहिरोमा परेकालाई घटनास्थलमै पुगेर राहत बाँडेका थिए ।

प्रकाशित : बिहिबार, भदौ २५, २०७७०२:३५

सर्वोच्चको आदेशमा अब यस्तै कैदीबन्दीले छुट पाउने !