काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता झलनाथ खनालले देशमा व्याप्त भएको भ्रष्टाचार रोक्न कमिसन कानून बनाउनुपर्ने बताएका छन्।
शुक्रबार स्थायी कमिटीको बैठकमा नेता खनालले देशमा भ्रष्टाचार व्याप्त हुँदै गएको भन्दा कमिसन कानून बनाउनुपर्ने बताएका हुन्। भ्रष्टाचार पूर्ण रुपमा निर्मूल पार्न कमिसन कानून बनाएर तह लगाउनुपर्ने उनको भनाई छ।
नेता खनालले बहुदल आएपछि भ्रष्टाचार बढेर गएको र त्यो क्रम ०६२/०६३ सालको जनक्रान्तिपछि अझ बढेको बताए। अहिले भ्रष्टाचारले पञ्चायतलाई समेत माथ खुवाएको उनको भनाई थियो।
“भ्रष्टाचारका विरुद्ध पञ्चायतविरुद्धको संघर्षमा दिलो ज्यान फालेर संघर्ष गरियो। बहुदल आएपछि भ्रष्टाचार उस्तै भयो। त्यो ०६२/०६३ सालको जनक्रान्तिपछि भ्रष्टाचार झन् मौलाउँदै पञ्चायतलाई समेत माथ खुवाउनेगरी भ्रष्टाचार भयो। अब चुप लागेर बस्न सकिँदैन। भ्रष्टाचार, घुसखोरी, बिचौलियाविरुद्ध कमिसन कानून बनाएर निर्मूल पार्नुपर्छ।”,उनले भने।
वर्तमान सरकारले भ्रष्टाचार निर्मुल पार्न नसके नेकपाको अस्तित्वनै हराउने भन्दै उनले समयमै गम्भीर बन्नु पर्ने बताए। कोरोना महामारीमा समेत भ्रष्टाचार बढेको प्रति उनले चिन्ता व्यक्त गरे।
“कोरोना महामारीमा समेत भ्रष्टाचार उस्तै छ। पार्टी नेता मन्त्रीकहाँ जताततै भ्रष्टाचारी र विचौलियाको बिगबिगी छ। कम्युनिस्ट पार्टी र आन्दोलनलाई चीर स्थायी बनाउन भ्रष्टाचारलाई तह लगाउनुपर्छ।”,उनले भने।