किलियन एम्बाप्पेले अर्को सिजन पिएसजी छोड्न चाहेको कुरा क्लबलाई बताइसकेका छन्। सन् २०२२ सम्म पिएसजीसँग अनुबन्धित एम्बाप्पेले यो सिजनको अन्त्यमा क्लब छोड्न चाहेको द टाइम्सको एक रिपोर्टले जनाएको छ। दुई वर्षपछि फ्री एजेन्टका रूपमा अन्य क्लबमा अनुबन्ध हुन सक्ने हुँदा अर्को सिजनमा पिएसजी एम्बाप्पेलाई बेच्ने सम्भावना उच्च रहेको बताइएको छ।
द टाइम्स कै रिपोर्ट अनुसार रियल म्याड्रिड, बार्सिलोना, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड जस्ता क्लबले एम्बाप्पेलाई अनुबन्ध गर्न चासो देखाएका छन्। रियल म्याड्रिड उनको अघिल्लो क्लब हुन सक्ने प्राय: मानिसको अनुमान रहेको छ। एम्बाप्पेले पनि धेरै समय अघिदेखि नै आफूलाई रियलको लागि खेल्ने इच्छा रहेको बताउँदै आएका छन्। क्लबका प्रमुख फियोरेन्टिना पेरेज एम्बाप्पेका ठूला प्रशंसक हुन्। तर एम्बाप्पेलाई अनुबन्ध गर्न अरु क्लबहरु पनि इच्छुक रहेकोले रियलले मोटो रकम खर्चिनु पर्नेछ।
२१ वर्ष कै उमेरमा विश्व फुटबलमा उत्कृष्ट खेलाडी मध्य एक किलियन एम्बाप्पे ट्रान्सफर मार्केटमा अहिलेको समयमा सबैभन्दा बढी मागमा रहेका खेलाडी हुन्। कम उमेर मै थुप्रै सफलता हासिल गरेका उनको अघिल्लो गन्तव्य कुन होला भन्ने चर्चाको विषय बनेको छ।
रियल म्याड्रिडले पछिल्लो २ वर्षदेखि एम्बाप्पेलाई अनुबन्ध गर्ने योजना गरहेको छ। त्यसैले पनि म्याड्रिडको २०२१ को लागि प्रमुख लक्ष्य एम्बाप्पे हुनेछन्।