काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको रूपमा कुलमान घिसिङको कार्यकालको सकिएको छ। चार वर्ष अगाडी भदौ २९ गतेका दिन कार्यकारी निर्देशकको रूपमा नियुक्ति पाएका उनको कार्यकाल आजबाट सकिएको हो।
आइतबार उनको कार्यकाल थप्ने कुनै पनि निर्णय नहुने देखिएको छ। यधपी प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमानलाई फेरि नियुक्त गर्ने प्रस्ताव भने तयारी अवस्थामा रहेको छ।
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका अनुसार प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमानलाई फेरि नियुक्त गर्ने प्रस्ताव तयार भएको छ । उक्त प्रस्ताव आजै वा भोलि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइने छ।
बताइएअनुसार, कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता दिने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच सहमति भइसकेको छ।
भदौ १९ गते मन्त्रिपरिषद्को बैठक बसेयता बस्न सकेको छैन। जसकारण पनि कुलमानको कार्यकाल थप्ने कार्य अगाडी बढ्न नसकेको हो। बालुवाटार श्रोतका अनुसार सोमबार मन्त्रिपरिषद्को बैठक सम्भावना रहेको छ। उक्त बैठक बाटै कुलमानको कार्यकाल थप हुनेछ।
कुलमानको समर्थनमा आवाज
कुलमानको कार्यकाल थप्न सरकारले आनाकानी गरेको हो की भन्ने आशंकासँगै जनस्तरबाट उनको समर्थनमा आवाज उठेका छन्। कुलमान घिसिङको कार्यकाल थप्न सर्वसाधारण देखि कलाकार सम्मले सरकारलाई आग्रह गरिरहेका छन्।