काठमाडौं । प्रत्येक नेपालीको राष्ट्रिय ऋण ४५ हजार पार गरेको छ । नेपाल सरकारको सार्वजनिक ऋण १३ खर्ब ७२ अर्ब रुपैयाँ नाघेपछि प्रत्येक नागरिकको भागमा ४५ हजार बढी परेको हो ।
चालु आर्थिक वर्षको साउन महिनासम्म सरकारको ऋण १३ खर्ब ७२ अर्ब ५९ करोड रहेको अर्थ मन्त्रालयले जनाएको छ । यसमध्ये आन्तरिक ऋण ६ खर्ब १३ अर्ब २१ करोड रुपैयाँ रहेको छ भने ७ खर्ब ५९ अर्ब ३८ करोड रुपैयाँ बाह्य ऋण रहेको छ ।
कुल ऋणलाई नेपालको अहिलेको जनसंख्या ३ करोड ८२ हजार ८ सयले भाग गर्दा हरेक नेपालीको थाप्लोमा ४५ हजार ६ सय २७ रुपैयाँ ऋण पर्न आउँछ । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।
असार मसान्तसम्म नेपालको सार्वजनिक ऋण १३ खर्ब १२ अर्ब ७१ करोड रुपैयाँ थियो । त्यो बेला हिसाब गर्दा हरेक नेपालीको थाप्लोमा ४३ हजार ७ सय रुपैयाँ ऋण रहेको थियो ।
साउन महिनामा सरकारले आन्तरिक ऋणको ३० करोड ४४ लाख रुपैयाँ ब्याज तिरेको छ । यस्तै बाह्यतर्फ ६० करोड पाँच लाख सावाँ र २८ करोड ८१ लाख ब्याज तिरेको छ । समग्रमा साउन महिनामा १ अर्ब १९ करोड ३० लाख रुपैयाँ सावाँ र ब्याज तिरिएको अर्थ मन्त्रालयले जनाएको छ ।