नेयमरलाई अल्भारोको सुझाव – ‘हारलाई पनि स्विकार्न सिक्नु’

एजेन्सी – फ्रेन्च क्लब मार्सेलीका डिफेन्डर अल्भारो गोन्जालेजले हारलाई स्वीकार्न नेयमार र फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई सुझाव दिएका छन्।

पीएसजीका नेयमारले रातो कार्ड पाएर मैदान बाहिर जाँदा अल्भारोले रंगभेदी टिप्पणी गरेको आरोप लगाएपछि अल्भारोले आफूबाट रंगभेदी टिप्पणी नभएको दावी गर्दै हारलाई आत्मसाथ गर्न सिक्नु पर्ने बताएका हुन्।

आइतबार राति भएको खेलमा पीएसजी घरेलु मैदानमै मार्सेलीसँग १–० ले पराजित भएको थियो। खेल अवधिभर दुवै टोलि बीच धेरै तनावको स्थिति शिर्जना भएको थियो भने अन्त्यतिर दुवै टोलिका खेलाडी हात हालाहालमा उत्रिएका थिए। जस पश्चात रेफ्री जेरोम ब्रिसार्डले ५ खेलाडीलाई रातो कार्ड देखाएका थिए । धेरैनै तनावग्रस्त बनेको उक्त खेलमा रेफ्रीले रेडकार्ड देखाउनु अगाडी १२ पटक पहेंलो कार्ड देखाउनु परेको थियो।

खेल सकिने लाग्दा हात हालाहाल गरेका जोर्डन अमाभी र लेभिन कुर्जावालाई सिधै रातो कार्ड देखाएका थिए । फल गर्ने लियान्ड्रो पारेडेस र डारियो बेनेडेटोलाई रेफ्रीले दोस्रो पहेंलो कार्ड देखाएका थिए। नेयमारलाई कार्ड दिन भने भिडियो असिस्टेन्ट रेफ्रीको प्रयोग गरिएको थियो।

भीएआरमा हेर्दा नेयमारले मार्सेका डिफेन्डर अल्भारोलाई टाउको पछाडी मुक्का हानेको देखिएपछि रेफ्रीले त्यसपछि पहिले नै पहेंलो कार्ड पाएका नेयमारलाई सिधै रातो कार्ड देखाएका थिए। नेयमारले मैदानबाट बाहिरिने क्रममा अल्भारोले रंगभेदी टिप्पणी गरेको आरोप लगाएका थिए ।

यसरी नेयमारले आरोप लगाएपछि अल्भारो गोन्जालेजले ट्वीटर मार्फत आफ्नो बचाऊ गर्दै आफूले रंगभेदी टिप्पणी नगरेको दावी गरेका हुन्। गोन्जालेजले फुटबलमा रंगभेदीको लागि ठाउँ नरहेको स्पष्ट पारेका छन्। साथै उनले खेलमा हार-जित हुने हुँदा त्यसलाई सहज रुपमा लिनु पर्ने पनि बताएका छन्।

प्रकाशित : सोमबार, भदौ २९, २०७७०७:११

बार्सिलोनामा मेस्सीको भूमिका पहिला जस्तो नहुने !