प्रधानमन्त्रीका प्रेस सल्लाहकारले स्पष्ट भने – ‘कुलमानले पुनः नियुक्ति लिन प्रतिस्पर्धा गर्नुपर्छ’

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार तथा सत्तारुढ नेकपाको प्रचार विभागका उपप्रमुख सूर्य थापाले नेपाल विद्युत प्राधिकरणमा पुनः कार्यकारी निर्देशक बन्न कुलमान घिसिङले प्रतिस्पर्धा गर्नुपर्ने बताएका छन्।

सोमबार बसेको मन्त्रीपरिषदको बैठक पश्चात सामाजिक संजाल फेसबुक मार्फत नेता थापाले नेपाल विद्युत प्राधिकरणमा पुनः कार्यकारी निर्देशक बन्न कुलमान घिसिङले प्रतिस्पर्धा गर्नुपर्ने बताएका हुन्।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले सोमबार दिउँसो घिसिङको समर्थनमा सामाजिक संजाल मार्फत धारणा सार्वजनिक गरेको विषयमा समेत थापाले टिप्पणी गरेका छन्। सरकारलाई सुझाव दिन मिल्ने भएपनि सामाजिक संजाल मार्फत खुल्लम-खुल्ला पार्टीका प्रवक्ताले आफ्नो धारणा राख्न नसक्ने थापाको बुझाई छ।

“नेपाल आमाका सपूत” काे पुनर्नियुक्तिकाे कानुनी व्यवस्था एउटा र गैरसपुतकाे अर्कै हुने हाे कि प्रक्रियामा प्रतिष्पर्धा गरेर नयाँ नियुक्तिमा पर्नुपर्छ?”,श्रेष्ठलाई थापाको प्रश्न छ।

पार्टीमा रहेको आफ्नो जिम्मेवारी भुलेर व्यक्ति विशेषको लबिङ गर्न प्रवक्ता श्रेष्ठ लागिपरेको उनको आरोप छ। आफू निकट र मन परेको व्यक्तिलाई नियुक्त गर्न सार्वजनिकी रुपमा दबाव दिनु उचित हुन्छ र ? भन्दै पनि थापाले प्रश्न गरेका छन्।

“सरकारले गर्ने काममा सल्लाह र सुझाव दिने यो विधि र तरिका संस्थागत निर्णय सार्वजनिक गर्ने कर्तव्य निर्वाह हो कि पदीय जिम्मेवारी विपरित व्यक्तिगत दबाब र लबिङ?”,थापाले श्रेष्ठलाई लक्षित गरेर भनेका छन्,”पार्टीकाे हाल जिम्मेवारी यही हाे र ? सबै नेताहरूले आफ्नाे निकट वा मन परेका व्यक्तिको यसैगरी दबाब र व्यक्तिगत मूल्यांकन सार्वजनिक गर्दै हुनेलाई नहुने र नहुनेलाई हुनेतिर धकेल्नु स्वस्थकर हुन्छ र ? सरकारकाे मूल्यांकन, परामर्श, प्रक्रिया र निर्णयमा यसाे गरेर के गर्न खाेजिएकाे ? पार्टीमा ऊर्जा क्षेत्र हेर्ने जिम्मा र गृहकार्यकाे संस्थागत दायित्व पनि हाेइन, अनि याे तरिका किन ? के आशय, अभिप्राय र नियतबाट उत्प्रेरित हाेला ? बुझ्नै पाे कठीन भयाे !”

प्रकाशित : मङ्गलबार, भदौ ३०, २०७७०३:२३

नारायणगढ–मुग्लिन सडकखण्ड पूर्ण सञ्चालन गर्न दिनभर लाग्ने