काठमाडौँ – चार वर्षे कार्यकाल सकाएका कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा फेरि नियुक्त गर्न माग गर्न सर्वत्र आवाज उठिरहेको छ।
कुलमानको समर्थनमा देशका विभिन्न भागमा प्रदर्शन पनि हुन थालेको छ। कुलमानको समर्थनमा सर्वसाधारण मात्र नभई कलाकारहरु पनि अगाडी आएका छन्।
कुलमान मंगलबार बिदा भएको कसैलाई पनि चित्त बुझेको छैन। सरकारले फेरि नियुक्त गर्ला भन्ने आशा गरिएपनि सोमबार बसेको मन्त्रिपरिषदले त्यस्तो कुनै पनि निर्णय गरेन। कुलमानलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा फेरि नियुक्त गर्न माग गर्दै कलाकारहरुले अभियान नै चलाएका छन्।
यसै बीच गायक अमृत गुरुङले पनि कुलमानलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा फेरि नियुक्त नगरिएको विषयले आफूलाई खिन्न बनाएको बताएका छन्। गायक गुरुङले कुलमान फेरि नियुक्त हुने समाचारले खुसी बनाएको भएपनि अहिले आएर भने आफू खिन्न भएको फेसबुक मार्फत बताएका हुन्।
आफूले कुलमानलाई निजी रुपमा नचिनेको भएपनि कुलमानको काम चिनेको गायक अमृत गुरुङ बताउँछन्। देशमा राम्रो गर्नेहरु ईर्ष्याको शिकार हुने परिपाटी सुरु भएको त होइन भन्ने आशंका पनि उनको छ।
“अस्ति कुलमान फेरि नियुक्त हुने समाचारले खुसी भएको थिएँ, अहिले कुलमानको बिदाई समाचारले खिन्न भएँ । म उनलाई चिन्दिनँ, मैले उनको काम चिनेको हुँ । राम्रो गर्नेलाई राम्रो भन्दा ईर्ष्याको शिकार हुने परिपाटी सुरु भएको हो भने अब त्यो पनि भन्न भएन । स्वतन्त्रता छिनेकोमा धन्यवाद सरकार ।”,गायक गुरुङले फेसबुकमा लेखेका छन्।