“कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशक पुनर्नियुक्ति गर्न मिल्दैन”

काठमाडौँ – नेपाल सरकारका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्नियुक्ति गर्न नमिल्ने बताएका छन्।

शुक्रबार बुटवलमा प्रेस संगठनद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनः नियुक्त गर्न कानुनले छेक्ने बताएका हुन्।

कुलमानजी प्रति सरकार सकारात्मक र सन्तुष्ट भएपनि उनको पुनर्नियुक्ति कानुनअनुसार नहुने उनले बताए। मुलुकको हित र कार्यक्षमताका अधारमा प्राधिकरणमा कार्यकारी निर्देशक नियुक्त गरिने उनको भनाई छ। कुलमान घिसिङलाई नै नियुक्ति गर्नै परे पनि नयाँ कानुनअनुसार गरिने र नयाँ कानुनले उनको पुनर्नियुक्ति रोक्ने मन्त्री ज्ञवालीले बताए।

उनले घिसिङको नियुक्तिमा उर्जा मन्त्री वर्षमान पुन र प्रधानमन्त्रीबीच असन्तुष्टि बढेको भन्दै आएको समाचारमा कुनै सत्यता नरहेको पनि दावी गरे। नेपालबाट लोडसेडिङ हटाउन कुलमानको महत्वपूर्ण भूमिका रहेको भएपनि अन्यको भूमिका भुल्न नहुने मन्त्री ज्ञवालीले बताए।

विद्युत प्राधिकरणका सन्दर्भमा आएका र रचिएका कथाहरूमा रमाउनु आवश्यक नहुने उनको भनाई छ। मुलुकको हित र कार्यक्षमताका अधारमा प्राधिकरणमा कार्यकारी निर्देशक नियुक्त गरिने उनले स्पष्ट पारे।

प्रकाशित : शुक्रबार, असोज ०२, २०७७०९:४६

नेपालमा रेल यातायाततर्फको अर्काे यात्रा शुरु …