एजेन्सी – केहि हप्ता अगाडी अर्जेन्टिनी स्टार लियोनेल मेस्सी बार्सिलोना छाडेर म्यानचेस्टर सिटि जान लागेको खबर चर्चामा थियो। त्यसताका मेस्सी सिटि जाने अन्तिम तयारीमा रहेको बताइएको थियो।
लगभग २ दशक बार्सिलोनामा बिताएका मेस्सीले बार्सिलोना छाड्न लागेको खबरले विश्वफुटबलमा हलचलनै ल्याएको थियो। तर, बार्सिलोनाबाट बहिर्गमन बारे चर्चा हुँदै गर्दा मेस्सीले एक अन्तर्वार्ता मार्फत बार्सिलोना छाड्न चाहेर पनि छाड्न बसकेको बताए। जसक्रममा उनले विभिन्न कारणहरु खुलाए। मेस्सी कम्तिमा यस सिजन बार्सिलोनामै रहने पक्का भइसकेको छ।
मेस्सी माथि चासो राखेको र सम्झौताको लागि प्रयास गरेको भनिएको म्यानचेस्टर सिटिका प्रशिक्षक पेप गार्डियोलाले मेस्सी बारे पहिलो पटक मुख खोलेका छन्। गार्डियोलाले पत्रकारहरुसँग कुराकानी गर्दै मेस्सीले प्राय कूरा प्रष्ट पारिसकेको हुँदा आफूले खासै केहि भन्न नपर्ने बताएका हुन्।
“मैले केहि भनिराख्नुपर्छ जस्तो लाग्दैन। मेस्सी आफैंले धेरै कुराहरु प्रष्ट पारिसकेका छन्। त्यसकारण मैले थप केहि भन्नुपर्छ जस्तो लाग्दैन।”,पत्रकारहरुसँग कुराकानी गर्दै उनले भने,”यसमा थप भन्नुपर्ने केहि छैन। उनी बार्सिलोनाका खेलाडी हुन् र बार्सिलोना त्यो क्लब हो जसलाई म धेरै मनपराउँछु।”
पहिला मेस्सी विश्वकै उत्कृष्ट खेलाडी रहेको सार्वजनिक रुपमै घोषणा गरिसकेका गार्डियोला अझै पनि मेस्सीलाई निस्सन्देह विश्वको उत्कृष्ट खेलाडी मान्छन्।
मेस्सीको बार्सिलोनासँग करिब एक वर्ष मात्रै सम्झौता बाँकि रहेको विषयलाई लिएर पत्रकारहरुले बार्सिलोना छाड्लान् त भनेर गरिएको प्रश्नमा गार्डियोलाले उक्त कुरा मेस्सीलाई नै सोध्नुपर्ने बताए।