नेपालमा सङ्क्रमितभन्दा निको हुने बढी !

सांकेतिक तस्विर

काठमाडौँ, पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार २०४ जनालाई कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण देखिएको छ । देशका विभिन्न प्रयोगशालामा १० हजार ३३३ जनाको पीसीआर परीक्षण गर्दा एक हजार २०४ जनालाई कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

अघिल्लो दिनको भन्दा शनिबार सङ्क्रमण घटेको छ । शुक्रबार देशभर दुई हजार २० जनामा कोरोना सङ्क्रमण देखिएको थियो । यो समाचार आजको गोरखापत्रमा प्रकाशित छ।

शनिबार थपिएसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या ६२ हजार ७९६ पुगेको छ । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १७ हजार १२९ छ । पछिल्लो २४ घण्टामा देशभर थप एक हजार ४४७ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । योसहित डिस्चार्ज हुनेको कुल सङ्ख्या ४५ हजार २६७ पुगेको छ । डा. गौतमले शून्य सङ्क्रमित रहेका जिल्ला सातवटा र पाँच सयभन्दा माथि उपचाररत सङ्क्रमित जिल्ला नौवटा रहेको बताउनुभयो ।

पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्लामा सुनसरी, मोरङ, सिरहा, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर र रुपन्देही छन् । यस्तै शून्य सङ्क्रमित भएका जिल्लामा सोलुखुम्बु, रसुवा, मुस्ताङ, म्याग्दी, मुगु, डोल्पा र हुम्ला छन् । देशभरका क्वारेन्टाइनमा सात हजार ७३५ जना र होम आइसोलेसनमा सात हजार ९७६ जना छन् । त्यसैगरी संस्थागत आइसोलेसनमा नौ हजार १५३ जना छन् ।

यस्तै काठमाडौँ उपत्यकामा शनिबार ७११ जनामा कोरोना पुष्टि भएको छ । प्रवक्ता गौतमका अनुसार काठमाडाँैमा ५७०, भक्तपुरमा ८३ र ललितपुरमा ५८ जनामा कोरोना पुष्टि भएको छ । उपत्यकामा शुक्रबार ८५९ जनामा कोरोना पुष्टि भएको थियो । उपत्यकामा कोरोना सङ्क्रमितको कुल सङ्ख्या १५ हजार ८४९ पुगेको छ ।

प्रकाशित : आइतबार, असोज ०४, २०७७०१:४०

भ्रष्टाचारी जोगाउन मुद्दा तामेलीमा राखेका घिमिरेलाई पदक !