केन्द्रीय कारागारका एक कैदीको शंकास्पद मृत्यु, हत्या भएको परिवारको दावी

काठमाडौँ – सुन्धारा स्थित केन्द्रीय कारागारमा एक कैदीको शंकास्पद मृत्यु भएको छ । केन्द्रीय कारागार सुन्धारामा जेल जीवन बिताइरहेका राम लखन जैसवालको शंकास्पद मृत्यु भएको हो।

शनिबार ३ असोजमा उपचारको क्रममा वीर अस्पतालमा ज्यान गुमाएका ६३ वर्षीय जैसवालको हत्या भएको परिवारले आरोप लगाएको छ। तर, जेल प्रशासनले भने उनको उपचारको क्रममा ज्यान गएको दावी गरेको छ।

ज्यान गुमाउने राम लखन रुपन्देहीको सिद्धार्थ नगरपालिका–५ का हुन्। उनी कर्तव्य ज्यान मुद्धामा ८ वर्षदेखि जेलमा रहेका थिए भने उनी असोज २२ मा उनी जेलमुक्त हुँदै थिए ।

केन्द्रीय कारागार प्रशासनले उनी दीर्घरोगी रहेको र स्वास्थ्यमा समस्या आएपछि शनिवार राति पौने १० बजे अस्पताल लगेकोमा २५ मिनेट पछि नै मृत्यु भएको बताएको छ। यधपी यो कुरा मान्न परिवार भने तयार छैनन्।

हत्याको आशंका

मृतकका परिवारजनले राम लखनको हत्या भएको आरोप लगाएका छन्। कोरोना संक्रमण भएको भन्दै शव हेर्न आफूहरुलाई नदिएको र नर्सको परिचय दिएर शवगृहमा पुग्दा आफ्ना पिताको रक्ताम्य शव भेटिएको मृतककी छोरी रश्मीले बताइन्।

रश्मीले मास्क लगाएर राखिएको रक्ताम्य शवको भिडियो पनि खिचेकी छन्। शवको भिडियो बनाएको भन्दै प्रहरीले लाठीले हिर्काएका कारण रश्मीको हात समेत भाँचिएको छ। अहिले वीर अस्पतालमै उनको हातको उपचार भइरहेको छ ।

प्रकाशित : मङ्गलबार, असोज ०६, २०७७१०:१३

खाडी मुलुकबाट पनि नियमित अन्तर्राष्ट्रिय उडान हुने