नारायणगढ-मुग्लिन खण्डमा १८ वटा पुल बनाउन बाटो खुला

काठमाडौँ : चितवनको नारायणगढ-मुग्लिन खण्डमा पुल बनाउन सरकारले बाटो खोलिदिएको छ । डबल लेनमा पुल अत्यावश्यक देखिएको भन्दै मन्त्रिपरिषद्ले ठेक्कामार्फत डिजाइन र निर्माणको काम अघि बढाउन स्वीकृति दिएको हो । सार्वजनिक खरिद नियमावली, २०६४ बमोजिम वातावरणीय अध्ययनसमेत गर्ने गरी ठेक्का गर्न स्वीकृति दिइएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

कानुनमा डिजाइन एन्ड बिल्डका सम्बन्धमा स्पष्ट उल्लेख नभएको भन्दै सडक विभागअन्तर्गत पुल महाशाखाले मन्त्रिपरिषद्मा निर्णय गरिदिन पत्र पठाएको थियो । ‘कानुनमा वातावरणीय अध्ययन कहिले गर्ने, ठेक्का अघि कि पछि भन्ने थियो, सँगै गर्ने भन्ने स्पष्ट थिएन,’ पुल महाशाखाका प्रमुख दीपक भट्टराईले भने, ‘त्यसैले निर्णयका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पठाएका थियौं, स्वीकृत भएर आएको छ ।’ यो खण्डमा १८ वटा पुल छन् । ४ वटाको ठेक्का लागेर धमाधम निर्माण भइरहेको छ । यो समाचार कान्तिपुर राष्ट्रिय दैनिक अखबारमा प्रकाशित छ। समाचार विमल खतिवडाले लेखेका हुन्।

थप १ सहित १५ वटा पुलको ठेक्का एकैसाथ गर्ने प्रमुख भट्टराईले बताए । ‘१५ दिनभित्र ठेक्काका लागि सूचना निकाल्नेछौं,’ उनले भने, ‘वातावरणीय अध्ययनसँगै डिजाइन एन्ड बिल्डको प्रक्रियाबाट ठेक्का गर्ने छौं ।’ नारायणगढ–मुग्लिन खण्डमा सडक विस्तार भएको वर्ष दिन बितिसक्दा पनि पुल नबन्दा समस्या छ । साँघुरा र जीर्ण पुलले दैनिक जाम र दुर्घटनाको जोखिम छ ।

प्रकाशित : सोमबार, साउन १३, २०७६०२:१७

युरोप पठाइदिन्छु भन्दै करोडौँ रकम असुलेर दलाल फरार, ३ दर्जन युवा ठगिए