काठमाडौँ – सरकारले नेपाल र चीनबीच सीमा समस्या नभएको स्पष्ट गरेको छ । यही असोज १ र ६ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयबारे जानकारी गराउन आज सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले नेपाल र चीनबीच सीमा विवाद र समस्या नभएको बताए।
“नेपाल र चीनबीच सीमा समस्या छैन । कहीँकतै देखा परे पनि बसी छलफल गरेर समाधान गर्ने हाम्रो सौहार्द सम्बन्ध छँदै छ”, उनले भने। परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल र चीनबीच सीमा विवादबारे आएका समाचारप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै भने, “केही दिनअघि नेपालका सञ्चारमाध्यम र बाहिरका सञ्चारमाध्यममा समेत नेपालको हुम्ला जिल्लाको लिमी उपत्यकामा चीनले नेपालको सीमाभित्र आएर घर बनाएको भनेर विभिन्न खालका समाचार सम्प्रेषण भएका छन् । नेपाल र चीनबीचको सीमा समस्याबारे समाचार सम्प्रेषण गर्नुपूर्व सम्बन्धित मन्त्रालय, विभागको आधिकारिक धारणा बुझेर मात्र गर्नुपर्छ । दुई देशबीचको सीमाको विषय संवेदनशील भएकाले आधिकारिक धारणासहित समाचार आउनुपर्छ । ”
जिल्ला प्रशासन कार्यालय हुम्लाबाट स्थगलगत अध्ययनका लागि टोली गएको र फर्केर आइसकेपछि थप केही कुरा भए सरकारले जानकारी गराउने उनले बताए।
प्रवक्ता ज्ञवालीले यस्तै खालको समाचार सञ्चारमाध्यममा २०७३ सालमा पनि आएको उल्लेख गर्दै त्यतिबेला सरकारले अन्तरमन्त्रालय छानबिन गरेको बताए । “ गृह, परराष्ट्र, नापी विभागसमेतको टिमले स्थलगत अध्ययन गरेर त्यतिबेला बनेका घरहरु नेपाल, चीन सीमाभन्दा एक किलोमिटर चिनियाँ भूभागमा नै भएको भनेर प्रतिवेदन दिएको रहेछ । अहिले पनि त्यही ठाउँमा घर बनाएको जानकारी प्राप्त भएको छ ”, उनले भने।
एक साताभित्र नाका सहज हुने
रसुवागढीस्थित केरुङ नाकामा एक हप्ताभित्र सहज गर्ने गरी दुई देशबीच सहमति भएको प्रवक्ता ज्ञवालीले जानकारी दिए। उनले निरन्तर कूटनीतिक संवादमार्फत नाका समस्याको समाधान गरिएको पनि बताए।
उनका अनुसार आज पहिलो पटक बिसिजीलगायत अत्यावश्यक खोपसहित अन्य औषधिजन्य सामग्री नेपाली भूमिमा प्रवेश गरिसकेका छन् । खास गरेर नाकाका केही श्रमिकलाई कोभिड –१९ सङ्क्रमण देखिएपछि केही समयदेखि नाका अवरुद्ध भएको उनले जानकारी दिए। “केही दिनदेखि ढुवानीमा केही समस्या उत्पन्न भएका थिए । त्यसले नेपालीको ठूलो लगानी फसिरहेको छ, चाडपर्वका बखत अत्यावश्यक वस्तु आउन नपाउँदा बजारमा अभाव खड्किरहेको छ”, उनले भने।