काठमाडौँ – असोज लागेसँगै लगातार ओरालो लाग्न थालेको सुनको मूल्य बिहिबार पनि घटेको छ। बिहिबार सुनको मूल्य तोलामा १ हजार २ सयले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तोलामा १ हजार २ सयले घटेसँगै छापावाला सुनको मूल्य ९३ हजार १ सय कायम भएको छ। यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा १२ सयले घटेको छ। जससँगै तेजाबी सुनको मूल्य ९२ हजार ६ सय कायम भएको छ।
सुनको मूल्य असोज लागेसँगै लगातार घटिरहेको छ। छापावाला सुनको मूल्य असोज १ गते ९६ हजार ६ सय रहेको थियो। जबकी आज सुनको मूल्य ९३ हजार १ सय रहेको छ। असोज लागेपछि मात्रै सुनको मूल्य तोलामा ३ हजार ५ सयले घटिसकेको छ।
बिहिबार कायम भएको सुनको मूल्य साउन ६ गते यताकै कम हो। त्यस दिन छापावाला सुनको मूल्य ९२ हजार ७ सय रहेको थियो। त्यसयता लगातार बढेको सुनको मूल्य साउन २३ गते इतिहाँस्कै उच्च विन्दु १ लाख ३ हजार ५ सयमा पुगेको थियो।
अहिले तुलनात्मक रूपमा डलर बलियो हुँदै गएको अन्तर्राष्ट्रिय बजारमा नै सुन बोलकबोलबाट बिक्री हुन थालेकाले मूल्य घट्न थालेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पूर्वअध्यक्ष तेजरत्न शाक्य बताउँछन् । नेपालमा सुनको मूल्य प्रतितोला ९० हजार सम्ममा झर्न सक्ने उनको भनाई छ। सुनको मूल्य घटिरहेपनि कारोबार भने ठप्प रहेको उनले बताए।