काठमाडौँ – संयुक्त राष्ट्र संघकाे शान्ति मिसनमा गएका एक सैनिक जवानमाथि कु-टपि-ट भएको छ।
अफ्रिकी राष्ट्र कंगोमा शान्ति स्थापनार्थका लागि खटिएका सैनिक जवानमाथि कु-टपि-ट भएको हो। कुटिनेमा जवान नवराज माझी रहेका छन्। उनी क्याप्टेन (सहसेनानी) इन्द्र थापा, सुवास हुमागाई र योगेन्द्र धितालबाट कुटिएको बताइएको छ।
ज्वाला गणबाट कंगोको शान्ति मिसनमा गएका सैनिक जवान नवराज माझीको शरीरमा गम्भीर नीलडाम छ । बताइएअनुसार, उनी असोज ८ गते राति कुटिएका थिए।
माझी कुटिएको विषयमा जङ्गी अड्डाले अनुसन्धान थालेको छ। घटनाबारे प्रधानसेनापति पूर्णचन्द्र थापालगायतलाई भोलिपल्ट नै जानकारी भएको र अनुसन्धानको लागि निर्देशन दिसकेको जङ्गी अड्डाले जनाएको छ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले शनिबार एक विज्ञप्ति जारी गरी घटनाप्रति मुख्यालयको ध्यानाकर्षण भएको जनाउँदै छानबिनको प्रकृया सुरु भईसकेको जानकारी गराएको छ।
निर्देशनालयका अनुसार छानबिनका लागि जेष्ठ सेनानीको नेतृत्वमा ‘कोट अफ इन्क्वायरी’ समेत गठन गरिएको छ ।