एक दशकदेखि सेवा दिँदै आएको चितवन मेडिकल कलेज (सिएमसी) मा एक वर्षमा चार लाखभन्दा बढी बिरामीले उपचार पाएका छन् ।
आर्थिक वर्ष २०७५÷०७६ मा बहिरङ्ग सेवा (ओपिडी) मा चार लाख ४४ बिरामीलाई सेवा दिइएको छ । अस्पतालका निर्देशक डा दयाराम लम्सालले सो अवधिमा ३२ हजार ५७६ जनाको आकस्मिक कक्षमा उपचार भएको जानकारी दिनुभयो । आकस्मिक कक्षमा उपचार गराउन आउनेमध्ये ३६ प्रतिशत दुर्घटनाका विरामी हुन् । सोही अवधिमा ४२ हजार ७०६ बिरामी भर्ना भएर सेवा लिएका छन् । त्यस्तै दुई हजार ९९३ ले निःशुल्क प्रसूति, सात हजार ८३० ले शल्यक्रिया, दुई हजार ५२८ ले मुख्य शल्यक्रिया सेवा लिएका छन् ।
गत आर्थिक वर्षमा ११ हजार ११ जनाको सिटिस्क्यान, दुई हजार ९७९ को एमआरआई, ५१ हजार ८६९ को युएसजी (भिडियो एक्स–रे) गरिएको थियो । सो अवधिमा ७४ हजार ४६३ जनाले बीमामार्फत सेवा लिए । भर्ना हुने बिरामीमध्ये पाँच हजार ६८४ जनाले बीमा सेवा उपयोग गरेको अस्पताल प्रबन्धक पारस अधिकारीले जानकारी दिनुभयो ।
अस्पताले गत आर्थिक वर्षमा सात जिल्लाका १२ ठाउँमा स्वास्थ्य शिविर सञ्चालन गरेर छ हजार ५५१ जनालाई सेवा दिएको थियो । अस्पतालले ७०० श्ययाको अनुमति लिएको छ । शुरुआतका वर्षमा अस्पतालबाट थप उपचारका लागि काठमाडौँ जानेको सङ्ख्या ठूलो भए पनि हाल यो सङ्ख्या एक प्रतिशतभन्दा कम रहेको अधिकारीले दावी गर्नुभयो ।
यसैबीच अस्पतालले विश्व हेपाटाइटिस डे (जुलाई २८) का अवसरमा आइतबारदेखि कलेजो प्रत्यारोपण सेवा शुरु गरेको छ । अस्पतालका निर्देशक डा लम्सालका अनुसार कलेजो रोगको बहिरङ्ग (ओपिडी) सेवा शुरु गरिएको हो ।
चितवनमा नै पहिलोपटक हेपाटाइटिस तथा कलेजो प्रत्यारोपण विशेषज्ञ डा सागर पौडेलबाट दैनिकरुपमा यो सेवा उपलब्ध हुँदै आएको छ । अस्पतालले कलेजो प्रत्यारोपणको स्वीकृतिसमेत पाइसकेको छ । अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिशचन्द्र न्यौपानेले कलेजो प्रत्यारोपणको दक्ष जनशक्ति तयार भइसकेको जानकारी दिँदै अस्पताललाई देशकै कलेजो प्रत्यारोपणको केन्द्र बनाउने लक्ष्य रहेको बताउनुभयो ।
उहाँका अनुसार बहिरङ्ग सेवामा कलेजो दिने र लिने दुवैको स्वास्थ्य परीक्षण, परामर्श सेवा दिइनेछ । न्यौपानेका अनुसार चितवन मेडिकल कलेज निजीमा सबैभन्दा बढी सङ्कायको पढाइ गर्ने कलेज हो । प्रविणता प्रमाणपत्रतह देखि स्नातकोत्तरसम्मको स्वास्थ्यसँग सम्बन्धित विभिन्न २६ वटा सङ्कायको पढाइ हुँदै आएको छ ।
न्यौपानेले सघन उपचार तथा बाल सघन उपचार कक्षजस्ता अत्यावश्यक जटिल उपचारमा पनि अस्पतालले सेवा दिइरहेको बताउनुभयो । गङ्गालालपछिको मुटु रोगको उपचारमा चितवन मेडिकल कलेजलाई लिइने गरेको न्यौपानेको दावी छ ।