काठमाडौँ – रुसले आफूले तयार पारेको कोभिड–१९ भ्याक्सिन नेपाल पठाउने भएको छ। रुसले कोभिड १९ भ्याक्सिनको २ करोड ५० लाख डोज नेपाललाई उपलब्ध गराउने भएको हो।
रुसी राष्ट्रिय सम्पत्ति कोषले ट्रिनिटी फर्मास्युटिकल्समार्फत उक्त औषधि नेपालमा पठाउन लागेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। कोषले उक्त घोषणा आज गरेको बताइएको छ।
रुसको द रसियन डिरेक्ट इन्भेष्टमेन्ट फण्ड (आरडीआइएफ)ले नेपालको एक प्रमुख औषधि वितरक ट्रिनिटी फर्मास्युटिकलसँग २ करोड ५० लाख डोज कोरोनाबिरुद्धको भ्याक्सिन ‘स्पुतनिक भी’ दिने सहमति गरेको रोयटर्सले आफ्नो समाचारमा उल्लेख गरेको छ। रुसले उपलब्ध गराउने भ्याक्सिन नेपालको करिब ९० प्रतिशत जनसंख्यालाई पुग्छ भने भ्याक्सिन नेपालका क्लिनिकहरुमा पनि उपलब्ध हुनेछ।
कोषले यस क्षेत्रको आधिकारिक वितरकको रुपमा नियुक्त गरेको ट्रिनिटी फर्मास्युटिकल्सले भारतमा पनि १० करोड डोज भ्याक्सिन सप्लाइ गर्नेछ । गामालेया राष्ट्रिय रिसर्च इन्स्टिच्युट अफ इपिडिमियोलोजी र माइक्रो बायोलोजीले गत अगस्त १२ का दिन ‘स्पुतनिक भी’लाई आधिकारिक रुपमा दर्ता गरेको थियो।
‘स्पुतनिक भी’लाई विश्वकै पहिलो कोरोना भाइरस विरुद्धको खोप भनिएको छ भने अहिले त्यसको विभिन्न देशहरुमा परीक्षण पनि भइरहेको छ। पछिल्ला परीक्षणहरुमा उक्त खोप मानव शरीरमा सफल भएको पाइएको छ। खोपले सामान्य मात्रै साइड इफेक्ट देखिएको बताइएको छ।