काठमाडौं । कोभिड–१९ को हटस्पटका रुपमा उदाउँदै गएको काठमाडौं उपत्यकाबाट संक्रमण देशैभरी फैलिने खतरा देखिएको छ । पछिल्ला केही सातामा देशभरी भेटिएका कुल संक्रमित मध्ये आधाभन्दा बढि काठमाडौं उपत्यकाका रहेका छन् । मंगलबार देशभरी भेटिएका एक हजार ५१३ मध्ये उपत्यकाका मात्रै करिव ६२ प्रतिशत संक्रमित छन् । उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौंमा ७४७, ललितपुरमा ११४ र भक्तपुरमा ७३ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । सोमबार पनि ६० प्रतिशतभन्दा बढि संक्रमित उपत्यकामै भेटिएका थिए । १ हजार ३५१ जनामध्ये उपत्यकाका ८१७ जनामा संक्रमण देखिएको थियो । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।
उपत्यकाभित्रको संक्रमण नियन्त्रणमा सरोकारवाला निकायले अहिलेसम्म प्रभावकारी कुनै पनि कदम चाल्न सकेको देखिदैन । सरकारले पनि संक्रमण न्युनिकरणका लागि कुनै विशेष योजना ल्याएको छैन । उपत्यकामा कोरोना परीक्षण भने विगतको भन्दा केहीमात्रै बढि हुन थालेको छ । गत २४ घण्टामा सबैभन्दा बढि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले १ हजार ७३८ स्वाब परीक्षण गरेकोमा १२८ संक्रमित फेला पारेको थियो । केएमसी अस्पतालमा भने ३०९ जनाको स्वाब परीक्षण गर्दा १०७ जना संक्रमित भेटिए । यस्तै, स्टार अस्पतालमा १ हजार ७१ को परीक्षण गर्दा १०९, पाटन अस्पतालमा २०१ जनाको परीक्षण गर्दा ९९ जना संक्रमित भेटिएका छन् ।
स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार टेकुमा परीक्षण गराउने अधिकाशं बाहिरी जिल्लाबाट आएका व्यक्ति हुन् । त्यहा त्यत्ति धेरै संक्रमण भेटिएको छैन । तर, अन्य अस्पतालमा पुगेर स्वाब परीक्षण गराउने भने उपत्यकामै बसोबास गरिरहेका, टे्सिङमा परेका रहेका छन् । जसले गर्दा संक्रमण निक्कै ठुलो रुपमा समुदायमा फैलिएको हुन सक्ने स्वास्थ्य विज्ञहरुको पनि भनाई छ ।
चाडपर्व नजिकिदै गर्दा काठमाडौं उपत्यकामा चहलपहल पनि बढेको छ । सरकारको लापरवाही र सर्वसाधारणको पनि वेवास्थाका कारण कोरोना संक्रमण झनै फैलिने देखिएको छ । स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाउदा स्थिति झनै भयावह हुने खतरा रहेको स्वास्थ्य मन्त्रालयले समेत चेतावनी दिईसकेको छ । काठमाडौं उपत्यकामै संक्रमण फैलिरहेका बेला चाडपर्व मनाउने गाउँतर्फ जाने बढेपछि कोरोना संक्रमण देशभरी फैलिन सक्ने स्वास्थ्यविज्ञहरुले चेतावनी दिएका हुन् ।
सरकारले पनि राजधानी बाहिर जानेलाई कुनै रोकतोक वा स्वास्थ्य सुरक्षाका कुनै मापदण्ड अपनाउन बाध्य बनाएको छैन । कोरोना परीक्षणका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को प्रोटोकल भन्दै दायरा सिमित बनाएको छ । निजी अस्पतालले पनि स्वाब परीक्षणका लागि सरकारले तोकेको मुल्यभन्दा निक्कै चर्को शुल्क असुल गरिरहेका छन् । २ हजार रुपैयाँमा हुने सरकारी अस्पतालमा पनि लामो लाइन देखिएको छ । जसले गर्दा सर्वसाधारणले चाहेर पनि स्वाब परीक्षण गराउन पाएका छैनन् ।

