एजेन्सी – एटलेटिको म्याड्रिडका अध्यक्ष एनरिक सेरेजोले लुइस सुआरेजसँग खेल्न लियोनेल मेस्सी एटलेटिको आउनुपर्ने बताएका छन्।

एक स्पेनिस मिडियासँग कुराकानी गर्नेक्रममा उनले सुआरेजलाई ‘मिस’ गरिरहेका मेस्सी बारे टिप्पणी गर्दै रमाइलो पारामा एटलेटिको आउन सुझाव दिएका हुन्।

बार्सिलोनाबाट सुआरेजको बहिर्गमन पछि मेस्सीले सुआरेजलाई ‘मिस’ गरिरहेको विषयमा प्रश्न गर्दा उनले इच्छा भए जे पनि सम्भव हुने बताए। उनले सुआरेजसँग चाहने मेस्सीलाई आफूहरु स्वागत गर्ने बताए।

उनले सुआरेजको ट्रान्सफर सहज रुपमा सफल भएको पनि जानकारी गराए। सुआरेजको ट्रान्सफर सोचे भन्दा धेरै सहज रुपमा भएको उनको भनाई छ।

प्रभावशाली प्रदर्शन गर्न सक्ने सुआरेजले एटलेटिकोलाई थप बलियो बनाएको पनि उनले बताए। यस सिजन क्लबले थप सफलता हाँसिल गर्ने सम्भावना बढेर गएको उनी बताउँछन्।

यस्तै उनले बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउसँग आफ्नो राम्रो सम्बन्ध रहेको पनि स्पष्ट पारेका छन्। त्यहि सम्बन्धका कारण सुआरेजको ट्रान्सफर सम्भव भएको उनको भनाई छ।

“बार्टोमेउ एक राम्रा र सफल क्लब अध्यक्ष हुन्। उनीसंग मेरो राम्रो सम्बन्ध छ।”,उनले भने,”बार्सिलोना भित्रै धेरै समस्या चलिरहेको छ। तर उनी त्यसलाई सहज रुपमा लिरहेका छन्, जुन उनले गर्नु पनि पर्छ।”
