काठमाडौँ – दशैँंलाई लक्षित गर्दै असोज १५ गते(भोलि)बाट सहुलियत मूल्यको पसल सञ्चालन गरिने भएको छ ।
सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पाेरेशनले आगामी मङ्सिर ७ गतेसम्म पसल सञ्चालन गर्ने भएका हुन्।
सुपथ मूल्य पसलका सामग्री काठमाण्डौ उपत्यकाका कालीमाटी, कोटेश्वर, टेकु, सिंहदरबार, सतुङ्गल, थापाथली, नख्खु, प्रयाग पोखरी, जावलाखेल र भक्तपुरका साथै देशभरका ४९ ठाउँमा खोलिने मन्त्रालयले जनाएको छ । दुग्ध विकास संस्थानले पनि आफ्ना सबै कार्यालय र बिक्री केन्द्रबाट सुपथ मूल्यमा दुग्धजन्य वस्तुको बिक्री हुने बताइएको छ। अनलाइन अर्डरमार्फत पनि सुपथ मूल्य पसलका सामग्री खरिद गर्न सकिनेछ ।
सुपथ मूल्य पसलमा कुन सामान कतिमा पाइन्छ र छुट कति छ ?
सुपथ मूल्य पसलमा पाइने सामान र त्यसको मूल्य पनि सार्वजनिक भएको छ। सार्वजनिक मूल्य सूचीका अनुसार सुपथ मूल्य पसलमा नुन प्रतिकिलो १८ रुपैयाँका दरले पाइनेछ भने चिनी प्रतिकिलो ७० रुपैयाँ पर्नेछ। नुन र चिनी प्रति परिवार चार किलोका दरले मात्रै खरिद गर्न पाइनेछ । साथै घ्यू प्रतिलिटर ८ सय ७० रुपैयाँको दरले पाइनेछ।
यस्तै सुपथ मूल्य पसलबाट चालम खरिद गर्दा किलोमा पाँच रुपैयाँ छुट पाइनेछ। खसी,बोका, च्याङ्ग्रामा प्रतिकिलो १० रुपैयाँ, दालमा प्रतिकिलो पाँच रुपैयाँ, सिमीमा प्रतिकिलो १० रुपैयाँ, फापरमा प्रतिकिलो पाँच रुपैयाँ र सेतो केराउमा प्रतिकिलो पाँच रुपैयाँ छुट दिइनेछ।