एजेन्सी – पोर्चुगिज राष्ट्रिय टोलिका पूर्वसदस्य रुई कोस्टाले क्रिस्टियानो रोनाल्डोको बारेमा शताब्दीयौंसम्म पनि कुरा हुने बताएका छन्।

एक मिडियासँग कुराकानी गर्नेक्रममा ३ सय वर्ष सम्म रोनाल्डोको कुरा चल्ने बताएका हुन्। रोनाल्डोले अहिले सम्म धेरै सफलता हाँसिल गरिसकेको हुँदा रोनाल्डोको गाथा ३ सय वर्ष सम्म पनि चल्ने उनले बताए।

“रोनाल्डो ३५ वर्षको उमेरमा पनि उत्कृष्ट खेलिरहेछन्। यो आश्चर्य लाग्दो कुरा हो। उनको गाथा शताब्दीयौंसम्म जीवित रहनेछ। अहिले भन्दा ३ सय वर्ष पछि पनि रोनाल्डोको कुरा चल्नेछ।”,उनले भने। फरक-फरक टिममा रहँदा पनि रोनाल्डोले एउटै स्तरको प्रदर्शन गरिरहेको कुरालाई सामान्य मान्न नसकिने उनको भनाई छ।

“उनी अद्वितीय छ्न्। उनी जुन टिमबाट खेलेपनि उनको स्तरमा कुनै कमी आएको छैन। क्लब मात्र नभई राष्ट्रिय टिमबाट खेल्दा पनि उनले जुन खेल प्रस्तुत गरिरहेका छन् त्यो साँचै नै आश्चर्य लाग्दो छ।”,उनले भने।

रोनाल्डो गोल गरेर नथाक्ने खेलाडी रहेको उनको बुझाई छ। गत सिजनमा सिरी ‘ए’को सर्वाधिक गोलकर्ता बन्नबाट चुकेका रोनाल्डो अब आउने सिजनमा सर्वाधिक गोलकर्ता बन्ने प्रयासमा रहने कोस्टाले बताए।

“जति मलाई थाहा छ, उनी सिरी ‘ए’को पनि सर्वाधिक गोलकर्ता बन्ने प्रयासमा छन्।”,उनले भने। यस्तै उनले युभेन्टसका नयाँ प्रशिक्षक आन्द्रे पिर्लो र रोनाल्डो मिलेर युभेन्टसलाई थप सफलता तर्फ अगाडी बढाउने पनि उनले विश्वास गरे।

