एजेन्सी – फ्रेन्च क्लब मार्सेलीका डिफेन्डर अल्भारो गोन्जालेज माथि कारवाही नहुने भएको छ। फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी)का नेयमारले लगाएको रंगभेदी टिप्पणीको आरोप पुष्टि हुन नसकेपछि गोन्जालेज माथि कारवाही नहुने भएको हो।
नेयमारले लगाएको आरोप माथि फ्रेन्च लिग अनुशासनात्मक समितिले गरेको अनुसन्धानका क्रममा आरोप पुष्टि हुने तथ्य फेला नपरेपछि गोन्जालेज माथिको कारवाही टरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्।

केहि हप्ता अगाडी भएको खेलमा पीएसजी घरेलु मैदानमै मार्सेलीसँग १–० ले पराजित भएको थियो। खेल अवधिभर दुवै टोलि बीच धेरै तनावको स्थिति शिर्जना भएको थियो भने अन्त्यतिर दुवै टोलिका खेलाडी हात हालाहालमा उत्रिएका थिए। जस पश्चात रेफ्री जेरोम ब्रिसार्डले ५ खेलाडीलाई रातो कार्ड देखाएका थिए । धेरैनै तनावग्रस्त बनेको उक्त खेलमा रेफ्रीले रेडकार्ड देखाउनु अगाडी १२ पटक पहेंलो कार्ड देखाउनु परेको थियो।

खेल सकिने लाग्दा हात हालाहाल गरेका जोर्डन अमाभी र लेभिन कुर्जावालाई सिधै रातो कार्ड देखाएका थिए । फल गर्ने लियान्ड्रो पारेडेस र डारियो बेनेडेटोलाई रेफ्रीले दोस्रो पहेंलो कार्ड देखाएका थिए। नेयमारलाई कार्ड दिन भने भिडियो असिस्टेन्ट रेफ्रीको प्रयोग गरिएको थियो।

भीएआरमा हेर्दा नेयमारले मार्सेका डिफेन्डर अल्भारोलाई टाउको पछाडी मुक्का हानेको देखिएपछि रेफ्रीले त्यसपछि पहिले नै पहेंलो कार्ड पाएका नेयमारलाई सिधै रातो कार्ड देखाएका थिए। नेयमारले मैदानबाट बाहिरिने क्रममा अल्भारोले रंगभेदी टिप्पणी गरेको आरोप लगाएका थिए ।
रंगभेदी टिप्पणी गरेको तथ्य भेटिएन
नेयमारले आरोप लगाएलगतै फ्रेन्च लिग अनुशासनात्मक समितिले अनुसन्धान गर्न एक टोलि बनाएको थियो। उक्त टोलिले सबै भिडियो फुटेजहरुको गहन अध्ययन गरेको थियो भने मैदानमा रहेका अन्य खेलाडी तथा रेफ्रीहरुसंग सोधपुछ गरेको थियो। उक्त टोलिले नेयमारको आरोप पुष्टि हुने कुनै तथ्य फेला पारेन र सोहि अनुसारको रिपोर्ट तयार पार्यो।

“भिडियो फाईलहरूको परीक्षण, दुवै क्लबका खेलाडी र प्रतिनिधिहरूसँगको सोधपुछका क्रममा अनुसन्धान टोलिले भेदभावपूर्ण टिप्पणी गरेको तथ्य पार्न सकेन।”,अनुसन्धान कमिटिले आफ्नो रिपोर्टमा भनेको छ।

