काठमाडौँ – जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले संविधान जारी भएपश्चात भारतले नेपालमा नाकाबन्दी नगरेको बताएका छन्। एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा उनले २०७२ सालमा भारतले नेपालमा नाकाबन्दी नगरेको दावी गरेका हुन्।
संविधान घोषणा गरिएपश्चात उत्पन्न भएको घटनाक्रम र आन्दोलनरत नेपालकै समूहले नाकामा अवरोध गरेका कारण नाका बन्द हुन पुगेको उनले बताए।
“संविधान जारी भएपछि पूरै देश आन्दोलनमा थियो, मधेश पनि आन्दोलित थियो। आन्दोलनमा उत्रिएका जनतासँग वार्ता गरेर समस्याको समाधान गर्नु कहाँ-कहाँ बल प्रयोग गर्न थाल्यो।”,उनले भने,”आन्दोलनकारी बाध्य भएर जीवनरक्षाको लागि नाकामा पुगे। नाकामा आन्दोलनकारी बसेपछि त स्वाभाविक रुपमा नाका बन्द हुने नै भयो नि ।”
त्यससमयमा सरकारले आन्दोलनमा उत्रिएका जनतासँग गम्भीर वार्ता गरेर आपूर्ति सहज गर्न सक्ने अवस्था रहेपनि त्यस्तो नगरेको उनले आरोप लगाए।
“गर्यो आफ्नो देशको जनताले दोष दिइयो भारतलाई”,उनले भने,”भारतको नाम लिएपछि त केहि गर्ननै परेन नि।”
पहिचान र अधिकारको लागि गरिएको आन्दोलनमा अन्तराष्ट्रिय समूदायकै समर्थन हुने हुँदा भारतले समर्थन गर्नुलाई अन्यथा लिन नहुने उनको बुझाई छ।
“संविधान जारी भएपछि भएको आन्दोलनमा विश्वको समर्थन थियो, भारतको पनि थियो।”,उनले भने,”तर केपी ओली मानसिकता भएकाहरुले त्यसलाई नाकाबन्दीको रुपमा प्रचार गरे।”
साथै उनले आफूहरुले भारतको इशारामा आन्दोलन नगरेको पनि स्पष्ट पारे। सरकारले आफ्ना जनतासँग वार्ता गरेर समस्याको समाधान गर्ने भन्दा पनि भारतको आन्दोलन भनेर पन्छिने काम गरेको उनले आरोप लगाए।