काठमाडौं । उपत्यकामा केही दिनदेखि कोभिड–१९ संक्रमणले गाँज्दै लगेको छ । संक्रमण संख्या १ हजार ५ सयको हाराहारीबाट बढेर दैनिक दुई हजार पुग्न थालेको छ । जसमध्ये काठमाडौं उपत्यकामै ६५ प्रतिशत संक्रमित भेटिन थालेका हुन् । शुक्रबार अहिलेसम्मकै सबैभन्दा धेरै २ हजार ७ सय २२ जनालाई संक्रमण भेटिएको थियो । जसमध्ये राजधानीमा १ हजार ६ सय ३८ जना रहेका छन् । शनिबार भने यो संख्या केही घटेर २ हजार १ सय २० जना संक्रमण भेटिँदा उपत्यकामा १ हजार १ सय ७७ जनामा संक्रमण देखिएको छ । चाडपर्व नजिकिएसँगै उपत्यकामा चहलपहल बढेपछि संक्रमण पनि फैलिँदै गएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सामाजिक दुरी र मास्कको प्रयोग नहुँदा समस्या झनै भयावह हुने चेतावनी दिए । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।
शनिबार काठमाडौंमा मात्रै १ हजार १ सय ७७ जनामा संक्रमण पुष्टि भएको छ । जुन कुल संक्रमित संख्याको ५५ दशमलव ५५ प्रतिशत हो । काठमाडौंमा शनिबार १ हजार १, ललितपुरमा १ सय ९ र भक्तपुरमा ६७ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उपत्यकामा मात्रै सक्रिय संक्रमितको संख्या १२ हजार बढी रहेको छ । देशभर २१ हजार ३ सय २ सक्रिय संक्रमितमध्ये उपत्यकामा ५७ दशमलव ५२ प्रतिशत रहेका छन् । जसमध्ये काठमाडौंमा ९ हजार ८ सय ९२, ललितपुरमा १ हजार २ सय ९० र भक्तपुरमा १ हजार ७२ जना रहेका छन् ।
उपत्यकापछि सबैभन्दा बढी सक्रिय संक्रमित मोरङमा १ हजार २ सय २४, रूपन्देहीमा ९ सय ६८, चितवनमा ७ सय ९ र सिराहामा ६ सय ६७ जना रहेका छन् । संक्रमण संख्या बढेसँगै संक्रमणमुक्त हुने संख्यामा पनि वृद्धि भएको छ । शुक्रबार ३ हजार ३ सय ७ जना र शनिबार २ हजार ४४ जना संक्रमणमुक्त भएको प्रवक्ता गौतमले जानकारी दिए । कुल संक्रमितमा निको हुने प्रतिशत ७४ दशमलव २ रहेको छ । शनिबार भने नेपालका भिआइपी स्थलमा समेत डरलाग्दो हिसाबमा कोरोना संक्रमण देखिएको छ । प्रधानमन्त्री निवासमा संक्रमणको ठूलो संख्या एकैपटक फेला परेको छ ।