प्रिमियर लिग इतिहासमा पहिलो पटक साबिक विजेताले खायो एकै खेलमा ७ गोल !

इंगलिस प्रिमियर लिग इतिहासमा पहिलो पटक कुनै साबित विजेता टोलीले एकै खेलमा ७ गोल खाएको छ। गयराती भएको खेलमा उपाधि रक्षा गर्ने दाउमा रहेको लिभरपुल एस्टन भिल्लासँग ७-२ को लज्जास्पद हार व्यहोर्न बाध्य भएको छ। सन् १९९२ बाट इंगलिस प्रिमियर लिगको नामबाट सुरु भएको यस लिगमा अहिलेसम्म कुनै पनि साबिक विजेता टोलीले एकै खेलमा ७ गोल खाएको थिएन।

चोटग्रस्त एलिसन र स्टार फर्वाड साडियो माने बिना मैदानमा उत्रिएको लिभरपुलको विरुद्ध एस्टन भिल्लाका ओली वाटकिन्सले चौंथो मिनेट मै गोलको खाता खोले। ओलीले २२ औं र ३९ औं मिनेटमा गोल गर्दै व्यक्तिगत ह्याट्रिक पूरा गरे। भिल्लाको लागि ज्याक ग्रिलिसले २, रस बार्क्ली र जोन मकगिनले एक एक गोल गरे। लिभरपुलको लागि दुबै गोल मोहम्मद सलाहले गरे।

त्यस्तै, इंगल्याण्डको पहिलो श्रेणीको लिगमा साबिक विजेताले एक खेलमा ७ गोल खाएको यो दोस्रो पटक हो। सन् १९५३ मा त्यो बेला फुटबल लिग नामले परिचित लिगको साबिक विजेता आर्सनलले सन्डरल्याण्डसँग ७-१ गोल अन्तरले पराजित भएको थियो।

प्रकाशित : सोमबार, असोज १९, २०७७११:३९

यी हुन् फुटबल इतिहासमा ७ नम्बर जर्सी लगाउने सबै भन्दा उत्कृष्ट १० खेलाडी