यी हुन् हरेक महादेशका उत्कृष्ट खेलाडी !

फुटबल विश्व कै सबैभन्दा प्रसिद्ध खेल हो। अहिलेको समयमा हामी सबैले विश्वका उत्कृष्ट खेलाडी को हो भनेर सोध्यो भने प्राय: मानिसको उत्तर हुन्छ लियोनल मेस्सी, क्रिस्टियानो रोनाल्डो, नेइमार, एम्बाप्पे जस्ता नाम। तर आज हामी विश्वकै उत्कृष्ट खेलाडी नभएर संसारमा रहेका ७ महादेशका एक उत्कृष्ट खेलाडीको बारेमा कुरा गर्नेछौं।  यी हुन् महादेश अनुसारका उत्कृष्ट फुटबल खेलाडी…

एशिया- सन ह्वुङ मिन 

इंगलिस प्रिमियर लिग क्लब टोटनह्यामबाट व्यावासाहिक फुटबल खेल्दै आएका दक्षिण कोरियाका सन एशियाका उत्कृष्ट खेलाडी हुन्। टोटनह्यामलाई २०१८–२०१९ को च्याम्पियन्स लिग फाइनलमा पुर्याउन ठुलो भूमिका खेलेका सनले दक्षिण कोरियाका लागि एसियन गेम्समा स्वर्ण पदक जितेका थिए। मिडफिल्ड र फर्वार्ड दुबै स्थानमा खेल्न सक्ने सन प्रिमियर लिगमा पनि उत्कृष्ट खेलाडी मध्य एक हुन्।

विशेष उल्लेख: सिन्जी कागावा

यूरोप- क्रिस्टियानो रोनाल्डो 

विश्वका उत्कृष्ट खेलाडीको कुरा गर्दा यूरोप महादेश एक नम्बरमा आउने गर्छ। बार्सिलोना, रियल म्याड्रिड, म्यानचेस्टर युनाटेड जस्ता विश्व प्रसिद्ध क्लब पनि यूरोप मै छन्। यूरोपको सबैभन्दा उत्कृष्ट खेलाडीको कुरा गर्दा क्रिस्टियानो रोनाल्डोको नाम लिँदा सायद दुई मत हुँदैन। ५ पटकका ब्यालुन डी’ ओर विजेता रोनाल्डो अहिले युभेन्टसबाट व्यावासाहिक फुटबल खेल्दै आएका छन्। ५ च्याम्पियन्स लिग १ युरो कप जितिसकेका रोनाल्डो फुटबल इतिहास कै उत्कृष्ट खेलाडी मध्य एक हुन्।

विशेष उल्लेख: रोबर्ट लेवानडोस्की, केविन डि ब्रुएन, किलियन एम्बाप्पे

अफ्रीका- मोहम्मद सलाह

अफ्रिका महादेशको उत्कृष्ट खेलाडीको कुरा गर्दा मोहम्मद सलाह र साडियो मानेको नाम सबैभन्दा अगाडी आउने गर्छ। इजिप्टलाई २०१८ को विश्वकपमा छनोट गराउनुका साथै लिभरपुल अहिले उत्कृष्ट टोलीमा मुख्य भूमिका रहेको मोहम्मद सलाह सायद यो समय अफ्रिकाका उत्कृष्ट खेलाडी हुन्। २ पटकका प्रिमियर लिग गोल्डेन बुट विजेता सलाहले लिभरपुलको लागि प्रिमियर लिग र च्याम्पियन्स लिग जितिसकेका छन्।

विशेष उल्लेख: साडियो माने, रियाद महारेज, पिएरे एमरिक अबामियांग

दक्षिण अमेरिका- लियोनेल मेस्सी

पेले, म्याराडोना जस्ता उत्कृष्ट खेलाडी उत्पादन गरेको दक्षिण अमेरिकाको अहिलेका सबैभन्दा उत्कृष्ट खेलाडी लियोनल मेस्सी नै हुन्। २०१४ को विश्व कपमा अर्जेन्टिनाले फाइनल सम्मको यात्रा तय गर्दा मुख्य भूमिका निभाएका मेस्सीले उक्त प्रतियोगितामा गोल्डेन बल जितेका थिए। इतिहास कै उत्कृष्ट खेलाडी मध्य एक राष्ट्रिय टोलीको लागि अहिलेसम्म उपाधि जित्न नसके पनि क्लब करियरमा उनले सबै उपाधि जितिसकेका छन्। ६ पटकका ब्यालुन डी’ ओर विजेता लियोनल मेस्सीले ४ पटक च्याम्पियन्स लिग पनि जितेका छन्।

विशेष उल्लेख: नेइमार, लुइस सुवारेज

उत्तर अमेरिका- केलर नाभास 

अरु महादेशको तुलनामा फुटबल कम प्रसिद्ध रहेको यस महादेशमा मेक्सिको, अमेरिका र कोस्टा रिका मात्र फुटबलका लागि लोकप्रिय मानिन्छन्। पछिल्लो समय फुटबल क्षेत्रमा उत्कृष्ट खेलाडी दिँदै आएको यस महादेशका उत्कृष्ट खेलाडी हुन् कोस्टा रिकाका केलर लाभास। रियल म्याड्रिडका लागि उत्कृष्ट फुटबल खेलेका नाभासले ३ च्याम्पियन्स लिग र १ ला-लिग जितेका छन्। २०१४ को विश्व कपमा उत्कृष्ट प्रदर्शन गरेको कोस्टा रिकाका मुख्य खेलाडी थिए केलर नाभास।

विशेष उल्लेख: जाभियर हर्नान्डेज

अष्ट्रेलिया र ओसेनिया- आरोन मुए

म्यानचेस्टर सिटी, हडर्सफिल्ड टाउन, ब्राइटन जस्ता क्लबबाट फुटबल खेलिसकेका आरोन मुए अहिले चाइनिज सुपर लिग क्लब सांघाइ सिपिगबाट व्यवसायिक फुटबल खेल्दै आएका छन्।  २०१५-१६ र २०१७-१८ च्याम्पियनसिप फुटबलमा पीएफए वर्ष खेलाडी घोषित मुएले अस्ट्रेलियाको लागि ४३ खेलमा ६ गोल गरेका छन्।

विशेष उल्लेख: टिम काहिल

अन्टार्टिका

अन्टार्टिका मानव बस्ती नभएको महादेश हो ।

 

प्रकाशित : बुधबार, असोज २१, २०७७१९:२६

‘मेस्सी र रोनाल्डो बीच को उत्कृष्ट भन्न असम्भव छ’