क्रिकेटको हिसाब नगर्ने हो भने तथ्यांकमा सदाबहार प्रतिद्वन्द्वी पाकिस्तानलाई भारतले उछिन्छ । क्षेत्रफलको हिसाबले भारत पाकिस्तानभन्दा चार गुणा ठूलो छ । त्यस्तै पाकिस्तानभन्दा भारत जनसंख्याका हिसाबले सात गुणा र कुल गार्हस्थ उत्पादन (जिडिपी) का हिसाबले १० गुणा माथि छ । त्यसो हुँदाहँुदै पनि कोभिड–१९ को सन्दर्भमा भारतमा ठूलो संख्या संक्रमित भएको छ, जुन तथ्यांक उसका लागि खुसीको विषय होइन । दुवै देशका सरकारी तथ्यांक हेर्ने हो भने गत महिनाका हरेक साता भारतमा जति मानिसको मृत्यु भएको छ, त्यो महामारी सुरु भएयता हालसम्म पाकिस्तानमा भएको कुल ६५ सय मृत्युको संख्याभन्दा बढी छ । यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।
भारतमा दिनहुँ ७० हजारको हाराहारीमा नयाँ संक्रमित भेटिएका छन् भने तीन महिनाअघि पाकिस्तान महामारीको हिसाबले सबैभन्दा उच्चतम विन्दुमा पुगेको थियो । अगस्ट सुरुदेखि पाकिस्तानमा दिनहुँ सयको हाराहारीमा मात्र संक्रमित देखिएका छन् । अर्थतन्त्रको हिसाबले पनि भारतले ठूलो मूल्य चुकाएको छ । एसियाली विकास बैकका अनुसार यो वर्ष भारतको जिडिपी ९ प्रतिशतले खुम्चनेछ भने पाकिस्तानको मात्र शून्य दशमलब ४ प्रतिशतले ।
‘हामी भाइरस नियन्त्रण तथा अर्थतन्त्रलाई स्थिर पार्न मात्रै होइन, लकडाउनले गरिब समुदायलाई पार्ने नकारात्मक प्रभाव रोक्नसमेत सफल भएका छौं,’ पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्ने क्रममा भिडियो सन्देशमा भनेका छन् ।
हिजोआज आमपाकिस्तानीले मास्क लगाउन छाडेका छन् भने सामाजिक दूरीको पनि खास परिपालना भएको छैन । ‘म बिरामी भइनँ, न मैले चिनेका कोही भए,’ इस्मामाबादको नजाम बजारका खुद्रा व्यापारी इरफानुल्लाह खान भन्छन्, ‘अब यो महामारीको अन्त्य भइसकेको छ ।’ तर विज्ञले यस्तो नतिजामा पुगिहाल्न हतार गर्न नहुने बताउँदै आएका छन् । अन्तर्राष्ट्रिय विज्ञले संक्रमितको संख्यामा अस्वाभाविक कमीले परीक्षणका तथ्यांकको विश्वसनीयतामा आशंका गर्ने ठाउँ रहेको दाबी गरेका छन् । तर पाकिस्तानमा कोरोना पोजेटिभ घट्दो क्रममा छन्, मानिस कम बिरामी भएका छन् र सघन उपचार कक्षमा उपचार गर्नुपर्नेको संख्या पनि कम नै छ ।