काठमाडौं । विहिवार देशभर कोरोना भाइरस (कोभिड–१९)का ४ हजार ३६४ संक्रमित फेला परेका छन् । नेपालमा एकैदिन यो संख्यामा संक्रमित फेला परेको पहिलो पटक हो । काठमाडौं उपत्यका रेकर्ड संक्रमित र विभिन्न जिल्लामा पनि उच्च संक्रमित फेला परेपछि संक्रमणको संख्याले नयाँ रेकर्ड बनाएको छ ।
विहिवार गरिएको १८ हजार ४७३ पीसीआर परीक्षणमध्ये २३.६३ प्रतिशत संक्रमित भेटिएका हुन् । यसअघि गत बुधबार ३ हजार ४३९ संक्रमित फेला परेका थिए । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या २६ हजार ६८४ पुगेको छ । कुल संक्रमित भने ९८ हजार ६१७ पुगेको छ । नेपालमा हालसम्म गरिएका पीसीआर परीक्षणमध्ये ८.७१ प्रतिशत संक्रमित फेला परेका छन् । विहिवार देशभरका ६८ जिल्लामा संक्रमित भेटिएका हुन् । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मोरङमा २४९, सुनसरीमा २१४, मकवानपुरमा १०५, रुपन्देहीमा १९९, सुर्खेतमा १०६, कैलालीमा ७५, बाँकेमा ५७ र दाङमा ५५ नयाँ संक्रमित फेला परेका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यकामा निषेधज्ञा खुलेसँग मानिसहरूको चहलपहल बढेको र स्वास्थ्य मापदण्ड पूरा पालना नगरिएका कारण संक्रमण संख्या ह्वात्तै बढेको जनाए ।
बाहिरबाट उपत्यका आउने व्यक्तिहरू दुई साता क्वारेन्टिनमा बसेर काममा फर्किने मापदण्ड भए पनि त्यो पनि पालना नभएको मन्त्रालयले जनाएको छ । पछिल्लो समय उपत्यकामा संक्रमण दर ह्वात्तै बढेकाले अस्पतालहरूमा समेत बेड अभाव हुन थालेको छ । अधिकांश अस्पतालहरूले आइसियू बेड भरिएको भन्दै नयाँ बिरामी भर्ना गर्न नसकिने जनाएका छन् ।
स्वास्थ्य मन्त्रालयले यसअघि २५ हजार सक्रिय संक्रमित बढेमा लकडाउन सुझाव दिएको थियो । विरामीको चाप थेग्न नसक्ने भएकाले केही साता लकडाउन गर्न सुझाव दिएको थियो । मन्त्रालयले सुझाव दिएपनि तत्काल लकडाउन भने नलाग्ने सरकारी अधिकारीहरुले बताएका छन् । तर, अवस्था हेरेर ठाँउ ठाँउमा निषेधाज्ञा भने लगाउन सकिने बताएका छन् । मन्त्रालयका प्रवक्ता गौतमले त्यसबारे अध्ययन भइरहेको र निर्णय हुन बाँकी भएको जनाए । ‘अध्ययन गर्दैछौँ, शय्या उपलब्ध हुन्जेल हामी लकडाउन गर्दैनौँ । शय्या बढाइरहेका छौँ, अस्पताल पनि थपिरहेका छौँ’, उनले भने, ‘के गर्ने भन्ने हामी हेर्दैछौँ हामीले निर्णय गरिसकेका छैनौँ ।’ देशभरि लकडाउन गर्ने योजना नभएको बरु कुनैकुनै जिल्लामा गर्नुपर्ने अवस्था आउन सक्ने उनको ठम्याइ छ ।
लकडाउनले बिरामी सन्चो नहुने तर त्यसबाट बिरामीको संख्या भने केही कम हुने मन्त्रालयको तर्क छ । ‘दुई हप्तामा बिरामी सन्चो हुन्छन् अनि नयाँ बिरामी राख्न सकिन्छ भनेर त्यसो गर्ने हो’, प्रवक्ता गौतमको भनाई छ । तर, सरकारलाई आउदै गरेको चाडपर्वले समस्या बनाएको छ । निषेधाज्ञा लगाउदा जनतामा आक्रोश फैलन सक्ने र नलगाउदा महामारी अझै फैलिने चिन्ताले सताउन थालेको छ । विहिवार थप १२ संक्रमितको पनि मृत्यु भएको छ । मृत्यु भएका संक्रमितमध्ये चार महिला र आठ पुरुष छन् । मन्त्रालयका अनुसार उनीहरू सुनसरी, धनुषा, काठमाडौंसहित उपत्यकाका तीनै जिल्ला, चितवन, कास्की र सुर्खेतका हुन् । तीमध्ये एक जना ३९ वर्ष, एक जना ५८ वर्ष र अन्य ७० देखि ९२ वर्षसम्मका संक्रमित हुन् ।