कोरोना भाइरसविरुद्ध परीक्षण भइरहेको रुसी खोप ‘स्पुतनिक भी’लाई भारतले परीक्षण अनुमति दिन अस्वीकार गरेको छ।

भारतको औषधि व्यवस्था विभागले रुसी खोपको भारतीय पार्टनर कम्पनी डा. रेडिज लेबोरेटिजलाई सो आदेश दिएको सिएनएनले शुक्रबार जनाएको छ। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।

‘यो खोपको पहिलो र दोस्रो चरणको अध्ययन अत्यन्त थोरै स्तरमा भएको छ र सुरक्षा एवं रोग प्रतिरक्षाको प्रभावकारिताका हिसाबले भारतीयमा यसको प्रभाव कस्तो हुनेछ भन्ने तथ्यांक पनि छैन,’ विभागको विषयगत समितिले गत सोमबार भनेको थियो। रुसी सरकारको स्वामित्वमा रहेको ‘दि रस्सियन डाइरेक्ट इनभेस्टमेन्ट फन्ड’ले गत महिना भारतलाई १० करोड डोज खोप उपलब्ध गराउने बताएको थियो।

खोप परीक्षणसम्बन्धी प्रस्तावको अध्ययनपछि विभागको विषयगत समितिले तेस्रो चरणको परीक्षणका लागि थप प्रस्टतासहित अर्काे विस्तृत प्रस्ताव पेस गर्न भनेको छ। भारतमा हालसम्म ६९ लाख कोरोना संक्रमित छन् भने भाइरसका कारण १ लाख ६ हजारको मृत्यु भइसकेको छ।

