काठमाडौं । आठ महिनामा नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५ हजार कटेको छ । माघ ९ गते चीनबाट फर्किएका एक व्यक्तिमा पहिलो पटक नेपालमा देखिएको कोरोना भाइरस अहिले १ लाख ५ हजार ६८४ जनामा देखिएको हो । संक्रमितको संख्या बढ्दै जाँदा दैनिक संक्रमणको दरमा पनि वृद्धि हुदै गएको छ । शनिवार हालसम्म कै सबैभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् ।
दैनिक भेटिने संक्रमितको संख्या रेकर्ड राख्दै ५ हजार ८ जना नयाँ फेला परेका हुन् । गत २४ घण्टामा १९ हजार ३२० मा पिसिआर गर्दा २६ प्रतिशतमा संक्रमण देखिएको हो । यो संख्या हरेक चार जनाको पीसीआर परीक्षण गर्दा एक व्यक्ति संक्रमित भेटिएको अवस्था छ । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।
शनिवारका कुल संक्रमित मध्ये आधा काठमाडौं उपत्यकाका रहेका छन् । पछिल्लो एक सातामा २१ हजार ११४ संक्रमित फेला परेका छन् । संक्रमणदर निक्कै तिव्र गतिमा फैलिरहेको छ । हालसम्मको कुल परीक्षण र संक्रमितको संख्या हेर्दा हरेक ११ जनामध्ये एक जनामा संक्रमण देखिएको छ । शुरुमा खासै ठुलो संख्यामा संक्रमित नभेटिएपनि पछिल्लो पटक संख्यामा वृद्धि भएपछि औसतमा पनि वृद्धि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकामा संक्रमितको संख्या निक्कै तिव्र गतिमा फैलिएको बताए । उपत्यकासँगै मोरङ, सुनसरी, चितवन, रुपन्देही, सुर्खेत र दाङमा पनि संक्रमण तिव्र रुपमा फैलिन थालेको छ । शनिवार राजधानीमा २ हजार ६७२ संक्रमित फेला परेका छन् । जसमध्ये काठमाडौंमा २ हजार १ सय, ललितपुरमा ३६९ र भक्तपुरमा २०३ संक्रमित भेटिए ।
६८ जिल्लामा शनिवार भेटिएका संक्रमितमध्ये सुनसरीमा ३९४, मोरङमा ३६९, चितवनमा १४७, रुपन्देहीमा २१५, सुर्खेतमा १३४ र दाङमा ९३ संक्रमित फेला परेका छन् । अन्य जिल्लामा भने संक्रमितको संख्या ५० भन्दा कम रहेको छ । गत २४ घण्टामा कोभिड–१९ मुक्त भई घर फर्किनेको संख्या एक हजार २२९ जना रहेको जानकारी प्रवक्ता गौतमले जानकारी दिए ।
शनिवारसम्म देशभरी सक्रिय संक्रमितको संख्या ३० हजार ८१८ छ । कोरोना भाइरसमुक्त हुनेको संख्या पनि दैनिक रुपमा घट्दो रहेको छ । यस्तै, आइसियुमा उपचाररत बिरामीको संख्या बढ्न थालेको छ । आइसियुमा ३२१ र भेन्टिलेटरमा ७७ संक्रमितको उपचार भईरहेको छ । शनिवार थप १४ संक्रमितको मृत्यु हुँदा कुल मृतकको संख्या ६१४ पुगेको छ ।
धेरै अप्ठेरो समय आयो
स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमणको दर बढ्दै जाँदा अफ्ठ्यारो परिस्थिति आएको बताएको छ । डिस्चार्ज हुनेभन्दा भर्ना हुने क्रम बढ्दै जाँदा निकै कठिन अवस्था आएको बताएको हो । ‘हाम्रो लागि धेरै अफ्ठ्यारो समय आएको छ । संक्रमितको संख्या धेरै बढेको छ । अस्पताल र आइसोलेसन सेन्टरहरु भरिएका छन् । खचाखच बिरामी छन्’, मन्त्रालयका प्रवक्ता गौतमले भने, ‘उहाँहरुको डिस्चार्ज हुने दर घटेको छ र बिरामी हुने दर बढेको छ । यसले हामीलाई धेरै अफ्ठ्यारो परिस्थितिमा पुर्याउँदैछ भन्ने आंकलन गर्न सकिन्छ । यसकारण सबै सुरक्षित रहौं ।’
सरकारले भीडभाड गरेर चाडपर्व तथा जात्राहरु नमाउन आग्रह गरेको छ । घरकै परिवार मात्रै बसेर चाडपर्व मनाउन आग्रह गरेको मन्त्रालयले टीका तथा प्रसाद पनि सकेसम्म ग्रहण नगर्न अनुरोध गरेको छ । यस्तै मन्त्रालयले संसदीय समितिहरुका बैठक तथा गोष्ठीहरु नगर्न अनुरोध गर्दै अन्य सरकारी कार्यालयहरुलाई पनि सोही आग्रह गरेको छ । सामाजिक दूरी कायम गरेर सेवाग्राहीलाई सेवा दिन पनि स्वास्थ्य मन्त्रालयले भनेको छ ।

