एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका बेल्जियन मिडफिल्डर केभिन डि ब्रुयनले मेस्सी म्यानचेस्टर सिटि आउने-नआउने कुराले आफूलाई खासै फरक नपार्ने बताएका छन्।

बेलायत र बेल्जियम बीचको खेलको पूर्वसन्ध्यामा पत्रकारहरुसँग कुराकानी गर्दै केभिन डि ब्रुयनले म्यानचेस्टर सिटिमा रहेका खेलाडीहरुसँग आफू रमाइरहेको हुँदा मेस्सी आउने-नआउने कुराले आफूलाई खासै फरक नपर्ने बताए।

“इमान्दारिताका साथ भन्नुपर्दा, त्यस बारे मलाई खासै मतलव नै छैन।”,मेस्सी म्यानचेस्टर आउने विषय बारे प्रश्न सोध्दा उनले भने,”यदि उनी आउँछन् भने त्यो राम्रो कुरा हो। तर आउँदैनन् भने पनि खासै फरक पर्दैन। अहिले क्लबमा पर्याप्त राम्रो खेलाडीहरू छन्, जोसँग खेल्न मलाई रमाइलो लाग्छ। र त्यो अहिलेको लागि मात्र होइन”

साथै केभिन डि ब्रुयनले म्यानचेस्टर सिटिमा आफ्नो भविष्यलाई लिएर पनि टिप्पणी गरेका छन्। म्यानचेस्टर सिटिमा आफू धेरै नै सन्तुष्ट रहेको उनले बताए।

सिटिसँग अझै साढे दुई वर्ष सम्झौता बाँकि रहँदै सम्झौता थप्ने सहमति भइसकेको भन्दै आएका समाचारलाई उनले खारेज गरे। त्यस किसिमको कुनै पनि कुरा नचलेको उनले स्पष्ट पारे।

“म क्लबमा धेरै सन्तुष्ट छु। क्लबमा मेरो बसाई बारे छलफल हुन्छ भने म त्यसको लागि तयार छु”,उनले भने,”तर अहिले त्यस्तो केहि पनि भएको छैन।”

